१८ असोज, काठमाडौं। पाल्पा जिल्लामा असोज १८ गतेदेखि २० गतेसम्म अत्यावश्यक बाहेकका सबै सवारी साधनहरू चलाउन रोक लगाइएको छ। जिल्ला विपद् व्यवस्थापन समितिको आज बसेको बैठकले वर्षासँगै बढेको बाढी पहिरोको जोखिमलाई मध्यनजर गर्दै यो निर्णय गरेको हो।
पाल्पाका प्रमुख जिल्ला अधिकारी बनु बज्राचार्य कुँवरका अनुसार, सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउँ गाउँपालिका–३ सिद्धबाबा सडकखण्ड, बिसमाइल फुलस्थित सडकखण्ड, तिनाउँ गाउँपालिका–५ चरचरे र हिउँदे खोला क्षेत्र, पाल्पा–गुल्मी सडकखण्ड तथा कालीगण्डकी करिडोरमा पहिरो जान सक्ने जोखिम बढी छ।
तीन दिनसम्म यी क्षेत्रमा अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा रोक लगाइने निर्णयसँगै, लामो तथा छोटो दुरीका सवारी साधन नचलाउन यातायात व्यवसायीहरूलाई समेत अनुरोध गरिने छ। साथै, स्थानीय तहहरूलाई उद्धार सामग्रीसहित तयारी अवस्थामा रहन पनि आग्रह गरिएको छ।
यो कदमले सम्भावित विपद् जोखिम न्यूनीकरण गर्ने र जनजिवन सुरक्षामा योगदान पुर्याउने अपेक्षा गरिएको छ।

















