१८ असोज, काठमाडौं। पछिल्लो २४ घण्टामा बागमती र मधेश प्रदेशका १० स्थानमा वर्षाको मात्रा खतराको तहमा पुगेको छ। आज अपराह्न चार बजेसम्मको रेकर्डअनुसार सबैभन्दा धेरै वर्षा रौतहट जिल्लामा भएको छ।
रौतहटको महेशपुरमा २४ घण्टामा २७० मिलिमिटर वर्षा मापन भएको छ भने गौरमा २४३.६ मिलिमिटर वर्षा भएको छ। पर्साको मुडलीमा २३१.८ मिलिमिटर, वीरगञ्जमा २२१.६ मिलिमिटर वर्षा भएको छ।
यसैगरी, बाराको कलैया क्षेत्रमा २१०.६, निजगढमा १५७.८ र रौतहटको गरुडामा १९१.८ मिलिमिटर वर्षा भएको छ।
मौसमविद्हरूले आज राति थप वर्षा हुने अनुमान गरेका छन्। त्यसैले आगामी असोज २० गतेसम्म उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरिएको छ। जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी र सावधानी अपनाउन आग्रह गरिएको छ।

















