२० असोज,चितवन । चितवनको भरतपुरमा कारले दुईवटा मोटरसाइकललाई ठक्कर दिँदा तीनजना गम्भीर घाइते भएका छन्। सोमबार नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–१ स्थित भतेरी जंगलमा दुर्घटना भएको हो।
नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा प्र ०१–०३३ च २६२७ नम्बरको कारले ग२३प ३०९२ र बा प्र ०६–००१ प ९३९१ नम्बरका दुई मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं डीएसपी रविन्द्र खनालले जानकारी दिए।
दुर्घटनामा कास्कीको पोखरा महानगरपालिका–११ निवासी ३६ वर्षीय राजु आचार्य, गोरखा भीमसेन थापा गाउँपालिका–१ का ५६ वर्षीय खड्गप्रसाद पौडेल र उनकी ४५ वर्षीया श्रीमती रेखाकुमारी पौडेल घाइते भएका छन्। ती सबैको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ।
प्रहरीले कार चालक, धनुषाको मिथिला बिहारी नगरपालिका–१० निवासी ३७ वर्षीय रामनारायण यादवलाई नियन्त्रणमा लिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।