२१ असोज,वीरगञ्ज । रौतहट जिल्लाको देवाही गोनाही नगरपालिका–६ कर्कच टोलमा आइतबार दिउँसो डुबेर बेपत्ता भएका दुई बालिकाको शव फेला परेको छ। खेतमा वर्षाको पानी जमेर बनेको गहिरो खाल्डोमा नुहाउने क्रममा उनीहरू डुबेका थिए।
ज्यान गुमाउनेमा रामदयाल रामकी १२ वर्षीया छोरी आरती कुमारी राम र शिवधारी रामकी ११ वर्षीया छोरी अन्तिमा कुमारी राम रहेका छन्।
घटनापछि इलाका प्रहरी कार्यालय गोनाही, सशस्त्र प्रहरी बेस क्याम्प देवाही, र स्थानीयवासीको सहयोगमा खोजी कार्य रातभर चलाइएको थियो। आरती कुमारीको शव करिब २० घण्टापछि फेला पारिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी राजु कार्कीले जानकारी दिए। अन्तिमा कुमारीको शव भने सोमबार बिहान भेटिएको हो।
इलाका प्रहरी कार्यालय गोनाहीका प्रमुख इन्स्पेक्टर कमल लुङ्गेलीका अनुसार बालिकाहरू नुहाउने स्थानभन्दा करिब १० फिट तल रहेको खाल्डोमा डुबेका थिए। खाल्डो जलकुम्भीले ढाकिएको हुँदा उनीहरूलाई तत्काल देख्न नसकिएको बताइएको छ।
मृतक दुवै बालिकाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ।
डिएसपी कार्कीले हालको निरन्तर वर्षाका कारण नदी, पोखरी, र खेतका भंगालोहरूमा डुबानको जोखिम बढेको भन्दै अभिभावकहरूलाई आफ्ना बालबालिकालाई त्यस्ता स्थानमा जान नदिन विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्।
रौतहटमा हालसालैको लगातार वर्षाले सदरमुकाम गौरसहितका अधिकांश क्षेत्रहरूमा डुबानको जोखिम बढेको र जनजीवन प्रभावित भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

















