२१ असोज, काठमाडौं । जेनजी युवा आन्दोलनका अगुवा नेता सुदन गुरूङले राजनीतिक दलहरूलाई आन्दोलनलाई फुटाउने प्रयास नगर्न कडा चेतावनी दिएका छन् ।
उनले जेनजीको नाममा हिंसात्मक र आपराधिक गतिविधि भड्काउने प्रयास भइरहेको भन्दै दलहरूलाई ‘राजनीतिक षड्यन्त्र’ नगर्न खबरदारी गरेका छन् । गुरूङले सामाजिक सञ्जालमार्फत आफ्नो समूह कुनै पनि हिंसात्मक गतिविधिमा विश्वास नगर्ने स्पष्ट पारेका छन् ।
हिंसा भड्काउने प्रयासमा चेतावनी
गुरूङले जेनजीको नाम प्रयोग गरेर भइरहेका आपराधिक गतिविधिप्रति आपत्ति जनाउँदै त्यस्ता कार्यमा संलग्नहरूलाई कानुन बमोजिम सजाय हुने बताएका छन् । उनी लेख्छन् ‘हामी कुनै पनि हिंसात्मक गतिविधिमा विश्वास गर्दैनौं। हाम्रो नाम प्रयोग गरी अपराधिक गतिविधिहरू भडकाइँदैछ।’ उनले जेनजीको आन्दोलन सधैं शान्तिपूर्ण रहेको र रहने भन्दै, यस्ता कार्यमा संलग्न नहुन सबैलाई अनुरोध गरेका छन् ।
राजनीतिक दललाई सिधा खबरदारी
गुरूङको यो भनाइ एमालेको भ्रातृ संगठन अनेरास्ववियुले उनी र मेयर बालेन साहविरुद्ध जाहेरी दिने तयारी गरेकै समयमा आएको छ। उनले दलहरूलाई अहिलेको समय ‘षड्यन्त्र गर्ने र गराउने’ नभएको स्पष्ट सन्देश दिएका छन् । ‘हामी राजनीतिक दलहरूलाई खबरदारी गराउन चाहन्छौं कि राजनीतिक षड्यन्त्र गर्ने र गराउने यो समय हैन। अब जनता जागिसकेका छन्, हामीलाई फुटाउन कुनै प्रयास नगरियोस्।’ जेनजी नेताको यो सार्वजनिक चेतावनीले आन्दोलनलाई दबाउन राजनीतिक शक्तिहरूबाट भइरहेको भनिएको प्रयासप्रति युवाहरूको अडान स्पष्ट पारेको छ।
















