२२ असोज, काठमाडौं । नेपाली बजारमा सुनको भाउले बुधबार अर्को ऐतिहासिक उचाइ लिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिन सुनको मूल्य प्रतितोला २ लाख ३८ हजार रुपैयाँ कायम गरेको छ, जुन अघिल्लो दिनको तुलनामा २ हजार ६ सय रुपैयाँ बढी हो । मंगलबार सुन २ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
विश्व बजारमा नयाँ रेकर्ड
नेपालमा मात्र होइन, अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्यले कीर्तिमानी यात्रा जारी राखेको छ । विश्वभर सुनको मूल्य निरन्तर उकालो लाग्दै, बुधबार प्रतिऔंस ४ हजार डलरको ऐतिहासिक सीमा पार गरेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेर प्रतिऔंस ४ हजार २५ डलर पुगेको छ। विश्वभर भइरहेको यो तीव्र मूल्यवृद्धिले नेपाली बजारलाई प्रत्यक्ष असर पारेको हो ।
चाँदी ५ रुपैंया घट्यो
सुनको भाउ अकासिँदा चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ । बुधबार चाँदीको भाउ प्रतितोला ५ रुपैयाँले घटेर २९५५ रुपैयाँमा कायम भएको छ। अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला २९६० रुपैयाँ रहेको थियो । अन्तर्राष्ट्रिय लगानीकर्ताहरू सुरक्षित लगानीको खोजीमा लाग्दा र विश्वव्यापी आर्थिक अनिश्चितता बढ्दा सुनको भाउ निरन्तर बढिरहेको विश्लेषकहरूको भनाइ छ।

















