२३ असोज, काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजामा युद्धविराम र बन्धकहरूको रिहाइका लागि इजरायल र हमासबीच भएको सम्झौताको स्वागत गरेका छन् ।
यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा शान्ति स्थापनाका लागि दुवै पक्षबीच सम्झौतामा हस्ताक्षर भएको जानकारी दिएका थिए ।
महासचिव गुटेरेसले सामाजिक सञ्जाल ‘एक्स’ (पूर्व ट्विटर) मार्फत लेखेका छन्, “म संयुक्त राज्य अमेरिका, कतार, इजिप्ट र टर्कीको कूटनीतिक प्रयासको प्रशंसा गर्छु, जसले यो सम्भव बनायो। म सम्बन्धित सबै पक्षहरूलाई सम्झौताका सर्तहरूको पूर्ण पालना गर्न आग्रह गर्दछु।”
गुटेरेसले सबै बन्धकहरूलाई “सम्मानपूर्वक रिहा गर्न” तथा गाजामा स्थायी युद्धविराम सुनिश्चित गर्न आग्रह गर्दै लेखेका छन्,“लडाइँ सधैँका लागि समाप्त हुनुपर्छ।”
उनले गाजाका सर्वसाधारणका लागि तात्कालिक मानवीय सहायता पहुँच सुनिश्चित गर्न पनि अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरेका छन् । हमास र इजरायलबीचको सहमति भएसँगै गाजामा अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइको आशा पनि जीवित भएको छ।
बुधबार राति मात्र जोशी बोलिरहेको पुरानो भिडियो सार्वजनिक भएको थियो। भिडियोमा उनी जीवित रहेको देखिए पनि सो दृश्य दुई वर्ष पुरानो भएको पुष्टि भएको छ।
त्यस कारण उनका हालका अवस्थाबारे अझै औपचारिक जानकारी प्राप्त हुन बाँकी रहेको परराष्ट्र स्रोतहरूले बताएका छन्।
संयुक्त राष्ट्रसंघका महासचिवसहित कतार, इजिप्ट, टर्की र अमेरिकाले यो सम्झौतामार्फत गाजामा दीर्घकालीन स्थायित्वको बाटो खुलेको बताउँदै दुवै पक्षलाई संयम अपनाउन आग्रह गरेका छन् ।
गाजामा लामो समयदेखि जारी द्वन्द्वले हजारौँको ज्यान लिइसकेको र लाखौँ नागरिक विस्थापित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

















