Logo

२४ असोज, काठमाडौँ । ओमानमा जारी आइसीसी पुरुष टी–२० विश्वकप एसिया र इस्ट एसिया-प्यासिफिक छनोट अन्तर्गत आज नेपाल र जापानबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार दिउँसो ४:१५ बजे अल अमिरातस्थित ओमान क्रिकेट मैदानमा सुरु हुनेछ।

समूह ‘बी’मा रहेका नेपाल र जापान दुवैले एक–एक खेल जित्दै सुपर सिक्समा स्थान पक्का गरिसकेका छन्। दुवै टोलीले आफ्नो पहिलो खेलमा कुवेतलाई पराजित गरेका थिए। लगातार दोस्रो हार बेहोरेको कुवेत भने प्रतियोगिताबाट बाहिरिसकेको छ।

प्रतियोगितामा एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रबाट छनोट भएका ९ टोली सहभागी छन्। ती टोलीहरूलाई तीन समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहको शीर्ष दुई टोली सुपर सिक्समा पुग्नेछ। सुपर सिक्सको चरणपछि शीर्ष तीन टोलीले सन् २०२६ मा भारत र श्रीलंकाको संयुक्त आयोजनामा हुने टी–२० विश्वकपमा स्थान पाउने छन्।

नेपालले यसअघि समूह चरणको पहिलो खेलमा कुवेतलाई ५८ रनले पराजित गर्दै उत्कृष्ट सुरुआत गरेको थियो। कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको नेपाली टोलीले आज जापानविरुद्धको खेलमा पनि जित निकाल्दै समूह विजेता बन्ने लक्ष्य राखेको छ।

नेपालको टोलीमा रहेका खेलाडीहरू:
रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेश बम, कुशल मल्ल, आसिफ शेख, मोहम्मद आदिल आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ शेख, ललित राजवंशी, गुलशन झा र सोमपाल कामी ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार टोलीले पछिल्ला खेलहरूमा उत्कृष्ट समन्वय र सन्तुलन देखाएको छ। आजको खेलमा पनि बलिङ र फिल्डिङमा सुधारसहित निरन्तर प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।

नेपाल र जापानबीचको आजको भिडन्तले सुपर सिक्स चरणमा समूह ‘बी’को अन्तिम स्थिति निर्धारण गर्नेछ।


सम्बन्धित समाचार
भर्खरै