Logo

२४ असोज, काठमाडौँ । नेपालका कम्युनिस्ट पार्टीहरूबीच एकता र ध्रुवीकरणको तीव्र प्रयास भइरहेको सन्दर्भमा नेकपा माओवादी केन्द्रले महत्त्वपूर्ण संस्थागत निर्णयका लागि नेकपा एकीकृत समाजवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा को निर्णय कुरिरहेको छ।

माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नेकपा एस र विप्लव नेतृत्वको नेकपासँग चरणबद्ध वार्ताहरू भइरहे पनि संस्थागत निर्णय नआउँदा माओवादी पर्ख र हेरको अवस्थामा छ। माओवादी केन्द्रले एकतालाई प्राथमिकतामा राखेर आफ्नो सचिवालय बैठक समेत स्थगित गरेको छ । एकीकृत समाजवादीले एकताको विषयमा संस्थागत निर्णय गर्न आज सचिवालय बैठक बोलाएको छ भने विप्लव नेतृत्वको नेकपाले भोलि स्थायी समिति र केन्द्रीय समिति बैठक बोलाएको छ।

माओवादी केन्द्रका सचिवालय सदस्य गिरिराजमणि पोखरेलका अनुसार, यी दुई पार्टीको निर्णय आएपछि मात्र माओवादीको सचिवालय बैठक बस्नेछ।

नेकपा एससँग सहमति नजिक

माओवादी केन्द्र र एकीकृत समाजवादीबीचको एकता प्रयास सकारात्मक र द्रुत गतिमा अघि बढेको माओवादी नेताहरूको भनाइ छ । दुई पार्टीबीच पार्टीको नाम नेकपा समाजवादी केन्द्र राख्नेबारे लगभग सहमति भएको छ। यसको मार्गदर्शक सिद्धान्त मार्क्सवाद र लेनिनवाद रहने सहमति पनि भएको छ। सङ्क्रमणकालीन अवस्था लाई मध्यनजर गर्दै संयोजक र सहसंयोजक राखेर जानेबारे पनि दुवै पक्ष सकारात्मक देखिएका छन्। ती नेताहरूका अनुसार, एकीकृत समाजवादी र नेकपाको संस्थागत निर्णय आएमा कात्तिकको पहिलो वा दोस्रो हप्ता एकता घोषणा हुनसक्छ।

विप्लव समूहसँगको गाँठो

एकीकृत समाजवादीभन्दा विप्लव नेतृत्वको नेकपासँगको एकता प्रयासमा भने केही समस्या देखिएको छ । विप्लवले नेतृत्व तहका सबै नेताहरूलाई बिदा गरेर नयाँ कम्युनिस्ट केन्द्र बनाएर जानुपर्ने प्रस्ताव गरेकाले सहमति जुट्न कठिन भएको पोखरेलको भनाइ छ । यद्यपि, प्रचण्डले माधव नेपाल, विप्लव, अशोक राई, महिन्द्र यादव, प्रेमबहादुर सिंह लगायतका नेताहरूसँग नियमित छलफल गरिरहेको र पार्टी एकता तथा ध्रुवीकरणलाई उच्च प्राथमिकता दिएको माओवादीले जनाएको छ ।


सम्बन्धित समाचार