Logo

  २४ असोज, काठमाडौँ । यस वर्ष नेपालमा जापानिज इन्सेफ्लाइटिस (JE) संक्रमणबाट हालसम्म ३१ जनाको मृत्यु भइसकेको छ, जुन विगत १० वर्ष यताकै सबैभन्दा बढी संख्या हो। स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा अन्तर्गत बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार संक्रमितमध्ये अधिकांशले खोप नलगाएका तथा ४० वर्षभन्दा माथिका व्यक्तिहरू रहेका छन्।

डा. गौतमका अनुसार, सन् २०२५ मा हालसम्म १६४ जनामा संक्रमण पुष्टि भएको छ, जबकि गत वर्ष ८६ जनामा मात्र देखिएको थियो। “खोप लगाएका मानिसहरूमा पनि संक्रमणका केही घटना देखिएका छन्, जुन खोपको प्रभाव विस्तारै कम हुँदै गएको संकेत हो,” उनले बताए।

जापानिज इन्सेफ्लाइटिस संक्रमण हाल ४२ जिल्लाका ११० पालिकामा फैलिएको छ भने २८ जिल्ला उच्च जोखिममा परेका छन्। मृत्यु भएका ३१ जनामध्ये लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै ११ जनाको ज्यान गएको छ। कोशी प्रदेशमा चार, मधेसमा तीन, बागमती र गण्डकीमा पाँच–पाँच, कर्णालीमा एक र सुदूरपश्चिममा दुई जनाको मृत्यु भएको छ।

खोपको प्रभाव घट्दै?

नेपालमा ८२ प्रतिशत बालबालिकालाई जापानिज इन्सेफ्लाइटिसविरुद्धको खोप दिइएको छ। सन् १९९८ देखि ५ वर्षमुनिका बालबालिकालाई नियमित रूपमा यो खोप दिइँदै आएको हो। तर हाल खोप नलगाएका वयस्कहरूमा संक्रमण बढिरहेको देखिएको छ। डा. गौतमका अनुसार, लामखुट्टे, सुँगुर वा हाँसजस्ता जनावरहरूसँगको सम्पर्कले संक्रमण फैलिएको हुन सक्ने भएकाले थप अध्ययन भइरहेको छ।

संक्रमण कहिले बढी देखिन्छ?

यो रोग विशेषगरी साउनदेखि कात्तिक महिनासम्म बढी देखिने गरेको छ। नेपालमा जापानिज इन्सेफ्लाइटिस पहिलो पटक सन् १९७८ मा रूपन्देहीमा देखिएको थियो। त्यसयता यो रोगको प्रभावक्रम बढ्दो छ।

विशेषज्ञहरूले संक्रमण रोकथामका लागि वयस्क वर्गलाई समेत खोपको पहुँचमा ल्याउनुपर्ने, जनचेतना बढाउनुपर्ने र लामखुट्टेको नियन्त्रणमा कडाइ गर्नुपर्ने सुझाव दिएका छन्।


सम्बन्धित समाचार