२४ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान संविधानले अहिलेकै रुपमा काम नगर्ने भन्दै संशोधनसहितको परिमार्जन गर्ने प्रस्ताव गरेका छन् ।
शुक्रबार राजधानीमा सम्पादकहरूसँगको छलफलका क्रममा उनले यस्तो प्रस्ताव राखेका हुन् । उनले संशोधनसहितको परिमार्जनका लागि राष्ट्रिय सहमति आवश्यक भएको बताएका छन् । ‘यो संविधानले अहिलेकै रुपमा काम गर्दैन, संशोधन र परिमार्जन गरौं,’ प्रचण्डले भनेका छन्, ‘जसका लागि राष्ट्रिय सहमति चाहिन्छ ।’ साथै, उनले राष्ट्रिय स्वाधीनताको विषयमा यसभन्दा अघि कहिल्यै यति ठूलो हस्तक्षेप नरहेको पनि बताएका छन् ।
‘राष्ट्रिय स्वाधीनतामा यति ठूलो हस्तक्षेप, स्वाधीनताको विषय पहिले थिएन,’ उनले भने, ‘राष्ट्रिय स्वाधीनतामा यति ठूलो चुनौती पहिले कमै थियो ।’ उनले राजनीतिक संकट पनि कायमै रहेको बताए । जेनजी युवा आन्दोलनले संविधानको विषयलाई नितान्त नयाँ कोणबाट सोच्नुपर्ने ठाउँमा ल्याइदिएको पनि प्रचण्डले बताएका छन् ।
उनको दल माओवादी केन्द्रले संविधान संशोधन गरी प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था हुनुपर्ने यसअघिबाटै बताउँदै आएको छ ।

















