२४ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मुलुकले अहिले सामना गरिरहेको गम्भीर राजनीतिक सङ्कट लाई राष्ट्रिय सहमति र समझदारीबाट मात्रै समाधान गर्न सकिने बताएका छन् ।
शुक्रबार ललितपुरमा सञ्चारमाध्यमका सम्पादकहरूसँगको अन्तर्क्रियामा बोल्दै उनले विगतमा पनि राष्ट्रिय सहमतिबाटै ठूला समस्या समाधान भएको स्मरण गराएका छन् । प्रचण्डले मुलुकको वर्तमान अवस्थालाई भयानक एपिसोडको सङ्ज्ञा दिँदै यसबाट पार पाउन सबै राजनीतिक दलहरूले अहङ्कार र व्यक्तिगत स्वार्थ त्याग्नुपर्नेमा जोड दिए । उनले देशको स्वतन्त्रता, अस्मिता र स्वाधीनताको रक्षा का लागि सबै राष्ट्रवादी, लोकतन्त्रवादी र देशभक्त शक्तिहरू एक हुनुको विकल्प नभएको स्पष्ट पारे ।
वर्तमान सङ्कटको निकास खोज्नका लागि राष्ट्रिय सहमति र समझदारी को बाटो अपरिहार्य रहेको प्रचण्डको भनाइ छ। साथै, प्रचण्डले संविधानले अहिलेकै रूपमा काम नगर्ने भन्दै संशोधनसहित परिमार्जनका लागि राष्ट्रिय सहमति आवश्यक भएको प्रस्ताव राखेका छन् ।

















