Logo

२४ असोज, काठमाडौं । काठमाडौँमा विभिन्न समूहद्वारा शनिबार (असोज २५) आयोजना गरिन लागेको मोटरसाइकल र्‍याली, सभा र प्रदर्शनमा जिल्ला प्रशासन कार्यालय, काठमाडौँले पूर्ण प्रतिबन्ध लगाएको छ।

प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलद्वारा शुक्रबार जारी गरिएको सूचनामा भनिएको छ, “फरक–फरक समूहहरूले असोज २५ गते शनिबार काठमाडौँका विभिन्न स्थानमा मोटरसाइकल र्‍याली तथा सभा गर्ने जानकारी प्राप्त भएको छ। यस कार्यालयबाट त्यस प्रकारका कुनै पनि र्‍याली, प्रदर्शन, जुलुस वा सभा गर्न कोही कसैलाई स्वीकृति प्रदान नगरिने निर्णय गरिएको छ।”

विशेष गरी नेकपा एमाले निकट युवा संघले शनिबार दिउँसो १ बजे कोटेश्वरदेखि तीनकुनेसम्म मोटरसाइकल र्‍याली आयोजना गर्ने कार्यक्रम सार्वजनिक गरिसकेको छ।

जिल्ला प्रशासनले गत भदौ २३ गतेको जेन–जेड आन्दोलनका क्रममा भएका तोडफोड, आगजनी तथा सार्वजनिक र निजी सम्पत्तिमा भएको क्षतिको सन्दर्भ दिँदै यो निर्णय गरेको हो। प्रशासनको भनाइमा, त्यस्ता गतिविधिहरूले शान्ति–सुरक्षामा गम्भीर असर पुर्‍याउने सम्भावना रहेकाले यस्तो कदम चालिएको हो।

सूचनामा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ (क) र प्रहरी ऐन २०१२ को दफा १९ को उल्लेख गर्दै पूर्वस्वीकृति बिना कुनै पनि सार्वजनिक कार्यक्रम नगर्न र नगराउन सबैलाई आग्रह गरिएको छ।

प्रशासनले सर्वसाधारणलाई सुरक्षाको प्रत्याभूति दिने उद्देश्यले यस्ता गतिविधिमा प्रतिबन्ध लगाउनु परेको स्पष्ट पारेको छ।


सम्बन्धित समाचार