२४ असोज,वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य सङ्घले गत आर्थिक वर्षको निर्यात अनुदान आवेदन प्रक्रिया रोक्ने उद्योग विभागको निर्णय फिर्ता लिन र निर्यातकर्तालाई आवेदन दिने म्याद थप गर्न नेपाल सरकारसँग आग्रह गरेको छ।
सङ्घका अध्यक्ष हरिप्रसाद गौतमद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ, नेपाल सरकारले विगत वर्षहरूमा केही वस्तुहरूको निर्यातमा अनुदान दिने व्यवस्था गरेकोले निर्यात प्रवर्द्धनमा उल्लेखनीय सफलता हासिल भएको थियो। तर, उद्योग विभागले मिति २०८२ असोज २३ गते प्रकाशित सूचनामार्फत “आर्थिक वर्ष २०८१/८२ मा निर्यात गरिसकेका निर्यातकर्ताहरूले बुझाउने आवेदनहरू यस वर्ष प्रक्रिया नगर्ने” भनी निर्णय गर्दा निर्यात क्षेत्रको मनोबलमा नकारात्मक असर पर्ने बताइएको छ।
विज्ञप्तिमा भनिएको छ, “भूपरिवेष्ठित मुलुकका रूपमा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नै कठिन अवस्थामा रहेका नेपाली निर्यातकर्ताहरूले आर्थिक मन्दी र राजनीतिक संक्रमणका बीच पनि राष्ट्रका लागि आवश्यक वैदेशिक मुद्रा आर्जनमा योगदान दिँदै आएका छन्। यस्तो अवस्थामा निर्यात अनुदान पाउने प्रक्रिया रोकिनुले दीर्घकालीन नकारात्मक प्रभाव पार्नेछ।”
सङ्घले उद्योग विभागको उक्त निर्णय पुनर्विचार गरी आर्थिक वर्ष २०८१/८२ का लागि अनुसूची–३ बमोजिमको ढाँचामा निवेदन बुझाउने म्याद थप गर्न माग गरेको छ। साथै, सङ्घले वर्तमान वित्तीय सङ्कट र संक्रमणकालीन अवस्थालाई ध्यानमा राख्दै सोही आर्थिक वर्षको बक्यौता देखिने निर्यात अनुदान रकम बराबरको बण्ड जारी गर्न सरकारसँग अनुरोध गरेको छ।
विज्ञप्तिमा भनिएको छ, “वीरगञ्ज उद्योग वाणिज्य सङ्घ मुलुकको हालको वित्तीय सीमा, असहज परिस्थिति र औद्योगिक क्षेत्रका चुनौतीहरूलाई गम्भीरतापूर्वक बुझ्दछ र नेपाली निर्यातकर्ताहरूको संरक्षणका लागि प्रतिबद्ध रहँदै निर्यात प्रवर्द्धन तथा औद्योगिक विकासका पक्षमा सरकारलाई आग्रह गर्दछ।”

















