Logo

२५ असोज, वीरगञ्ज । बाराको सिम्रौनगढ नगरपालिका–६ मा माटो खन्ने क्रममा माटोको ढिस्को खस्दा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

शनिबार सिम्रौनगढ–६ स्थित पानीटंकी नजिकै घर लिपपोतका लागि माटो खन्ने क्रममा अचानक ढिस्को खस्दा ७० वर्षीया शारदादेवी महतो र १५ वर्षीय सुनिल महतोको ज्यान गएको हो। माटोले पुरिएपछि उनीहरूलाई उद्धार गरी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनामा ६ जना अन्य व्यक्ति घाइते भएका छन्। घाइतेहरूमा १४ वर्षीय साजन महतो, १५ वर्षीय नितेश महतो, १८ वर्षीय गौतम मुखिया, १४ वर्षीय रानीकुमारी महतो, १४ वर्षीय सुशिला कुमारी महतो र १५ वर्षीय राजाबाबु शर्मा रहेका छन्।

उनीहरूको सिम्रौनगढ र कलैयास्थित अस्पतालमा उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितका अनुसार घाइतेहरूको अवस्था सामान्य रहेको छ।

घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा उद्धार कार्य गरिएको थियो।


सम्बन्धित समाचार