२६ असोज, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशको राजनीतिक स्थायित्व र सुधारका लागि तीन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई तत्काल बिदाइ गर्नुपर्ने बताएका छन्।
थापाले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत भिडिओ सन्देश जारी गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पार्टी नेतृत्वबाट बिदाइ गर्न आह्वान गरेका हुन्।
“अब तीन दलका तीन नेताको नेतृत्वबाट देश अगाडि बढ्दैन,” भन्दै थापाले स्पष्ट शब्दमा तीनै नेतालाई ‘इफ, बट’ नगरी बिदाइ गर्नुपर्ने समय आएको बताए। उनले सुधारको सुरुवात गर्नका लागि पार्टीभित्रै संवादको थालनी गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
गगन थापाले भने, “तीन दलका नेता आफैंले अब हामी हिँड्छौं, नयाँ पुस्तालाई बाटो खोल्छौं भनेर अघि बढ्नुपर्छ। अहिलेको जटिल राजनीतिक अवस्था समाधान गर्न त्यसबाहेक विकल्प छैन।”
उनको भनाइले राजनीतिक वृत्तमा नयाँ बहस सुरु हुने संकेत देखिएको छ। विशेषतः युवा पुस्ता र पार्टीभित्र नेतृत्व परिवर्तनको माग गर्दै आएका समूहहरूका लागि यो सन्देश सशक्त संकेतका रूपमा आएको छ।
थापाले पार्टीभित्र सुधार र नेतृत्व रूपान्तरणका लागि अब ढिला नगर्न चेतावनी पनि दिएका छन्। तीनवटै दलमा अब खुला र इमानदार संवाद सुरु गरेर देशलाई नयाँ दिशा दिनुपर्ने उनको आग्रह छ।
यसअघि पनि गगन थापा नेतृत्व परिवर्तन र संस्थागत सुधारका पक्षमा खुलेर बोल्दै आएका छन्। अहिले भने उनले सिधै शीर्ष नेताहरूको नाम लिएर सार्वजनिक रूपमा बिदाइको माग गरेका छन्, जुन नेपाली राजनीतिमा दुर्लभ कदम मानिएको छ।

















