३० असोज, वीरगञ्ज । भारतको रक्सौलका एक प्रतिष्ठित उद्योगीले आफ्नी श्रीमतीको नाउँमा नेपाली नागरिकता प्रयोग गरी नेपालका वाणिज्य बैंकबाट करोडौं रुपियाँ ऋण लिएको रहस्य खुलासा भएको छ।
रक्सौलका व्यापारी रिपुसुदन प्रसादले आफ्नी श्रीमती प्रीति देवीका नाममा बाराको नितनपुरस्थित शिवम् आयल रिफाइनर्स उद्योग सञ्चालनका लागि ग्लोबल आइएमई बैंकबाट झण्डै २७ करोड रुपैयाँ कर्जा लिएको पत्ता लागेको हो।
रिपुसुदन र उनका परिवार भारतमा शिवम् आयल रिफाइनरी उद्योग, शिवम् मोर्डन राइस इन्डस्ट्रिज, शिवम् रोलर फ्लावर मिल, शिवम् कोल्ड स्टोरेज, र मेन रोडस्थित एम बजार लगायतका व्यवसाय सञ्चालन गर्दै आएका छन्। श्रीमतीको माइतीघरको नागरिकता प्रयोग गर्दै उनले नेपालमै उद्योग र वित्तीय कारोबार सञ्चालन गरेको खुलासा भएको हो।
वीरगञ्ज महानगर–६ रेशमकोठी निवासी वलराम प्रसाद कलवारकी माइली छोरी प्रीति देवीले करिब २६ वर्षअघि रक्सौलका रिपुसुदनसँग विवाह गरेकी थिइन्। विवाहपछि उनले भारतको पूर्वी चम्पारण, रक्सौल नगरपरिषद–१२ मा मतदाता सूचिमा नाम दर्ता गराई भारतीय नागरिकता प्राप्त गरेकी थिइन्।
प्रितीदेवीले पूर्वी चम्पारणको रक्सौलबाट 10/44/268 र HYJ 2104628 नम्वरको मतादाता प्रमाण पत्र लिएर सन २०१२ देखि हालसम्म उनले नियमित रूपमा भारतमा मतदान गर्दै आएकी छिन्।
तर, विवाहपूर्व नेपालमै लिएको नागरिकताको प्रयोग गरेर उनले नेपालका विभिन्न बैंकमा खाता सञ्चालन, कारोबार र कम्पनी दर्ता समेत गरेकी छिन्। जिल्ला प्रशासन कार्यालय पर्साबाट २०५३ साल असार १३ गते जारी गरिएको उनको नागरिकता प्रमाणपत्र नम्बर ५६२ रहेको छ।
अवैध नागरिकता प्रयोग र कानुनी प्रावधान
संविधान र नागरिकता ऐन, २०६३ अनुसार, कुनै नेपाली नागरिकले विदेशी नागरिकता ग्रहण गरेपछि उसको नेपाली नागरिकता स्वतः समाप्त हुन्छ। त्यसपछि पनि पुरानो नागरिकता प्रयोग गरी व्यवसाय वा सम्पत्ति कारोबार गर्नु अवैध कार्य मानिन्छ।
नागरिकता ऐनको दफा २१ अनुसार, “अयोग्य अवस्थामा नागरिकता लिएको वा प्रयोग गरेको व्यक्तिलाई तीन वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुन सक्छ।”
त्यस्तै, नागरिकताको दुरुपयोग गरी कम्पनी दर्ता, बैंक खाता सञ्चालन वा सम्पत्ति खरिद बिक्री गरेमा कम्पनी ऐन, सहकारी ऐन वा मनी लन्डरिङ निवारण ऐन अन्तर्गत पनि कारबाही हुन सक्ने कानुनी व्यवस्था छ। यस्तो सम्पत्ति राज्यले जब्त गर्न समेत सक्नेछ।
ऋणका लागि आमाको सम्पत्ति धितो
प्रीति देवीले आफ्नी आमा शान्तिदेवी कलवारको नाममा रहेको काठमाडौं महानगर–२४ स्थित ४५.७१ वर्गमिटरको घर र वीरगञ्ज महानगर–६ रेशमकोठीस्थित घर ग्लोबल आइएमई बैंकमा धितो राखी उद्योग सञ्चालनका लागि ऋण लिएकी हुन्।
शान्तिदेवीकी चार छोरीमध्ये माइली छोरी प्रीतिले आमाको सम्पत्ति बैंकमा राखेर सोभन्दा बढी रकम निकाल्न सफल भएकी बताइन्छ। यस प्रक्रियामा शिवम् आयल रिफाइनर्स उद्योगका अर्का सञ्चालक शिवम् साहका बुबा पवन कुमार साहको मुख्य भूमिका रहेको स्रोतले जनाएको छ।
पवन कुमार साहले पनि झुट्टो विवरण पेश गरेर नेपाली नागरिकता लिएको आरोप छ । उनीपनि भारत पूर्वी चम्पारण रक्सौलका स्थायीवासिन्दा हुन । उनले रौटहट जिल्ला प्रशासन कार्यालयबाट शुरुको नागरिकता लिएर पछि काठमाडौंमा स्थानान्त्रण गरेको देखिन्छ । उनको नागरिकता माथि समेत उजुरी परेको छ । राज्यका निकायको संरक्षणको कारण उनलाई कुनै कार्वाही हुन सकेको छैन ।
पवन साह भेप, सुनचाँदी र दाल गेडागुडीको अवैध कारोवारमा संलग्न रहदै आएको प्रहरी रेकर्डमा उल्लेख छ । केही महिना अघि मात्र बाणिज्य विभागको महानिर्देशकको नक्कली दस्तखत गरी केराउ र पोस्तादानाको अवैध पैठारी गरेको आरोपमा फरार छन् । उनी हाल भारतमा बस्दै आएको उनका पारिवारीक स्रोतले बताए ।
पवन साहले आफ्ना छोरा शिवम् साह र प्रीति देवीको नाममा शिवम् आयल रिफाइनर्स उद्योग प्रा.लि. २०८१ चैत ६ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गराएका थिए। उद्योग भने बाराको नितनपुरमा साहकै पुरानो दालमिल रहेको जग्गामा स्थापना गरिएको हो।
दुई सञ्चालक रहेको उद्योगको अधिकृत पूँजी २५ करोड र जारी पूँजी ११ करोड भए पनि, प्रीति देवीले एक्लैले २७ करोड ऋण लिएको तथ्य सार्वजनिक भएको छ।
प्रिती देवीले आफ्नो माइतीघरमो परिवारमा कुनै छोरा नभएको र ४ दिदी वहिनीहरुको भारतमा विवाह भएकोले आफ्नो बुवाको पुख्यौर्ली सम्पत्तिमा आफ्नो हक लाग्ने भएकोले आमाको नाउँमा रहेको सम्पत्तिलाई बैकमा राखेर उद्योग व्यवसाय चलाउन खोजेको बताई ।
विवाह गरेर गएपनि विवाह पूर्व लिएको आफ्नो नागरिकता भएकोले त्यसैबाट बैधानीक रुपमा कारोवार गरेको उनको भनाई छ । भारतबाट आधार कार्ड र भोटर आइडी लिएको भएपनि पैतृक सम्पतिको लागि नागरिकता समेत प्रयोग गरेको प्रितीको भनाई छ ।

धितोको मूल्यभन्दा बढी ऋण
काठमाडौं महानगर–२४ स्थित कित्ता नम्बर १६९१ को ४५.७१ वर्गमिटरको घरलाई बैंकले १ करोड ५८ लाख ३० हजार मूल्यांकन गरेको थियो। तर सो घितोमा २० करोड रुपैयाँ ऋण स्वीकृत गरिएको देखिन्छ। यस्तै, वीरगञ्जको रेशमकोठीस्थित १ कठ्ठा जग्गा र त्यसमाथिको घरमा ७ करोड रुपैयाँ ऋण स्वीकृत भएको बैंक स्रोतले जनाएको छ।
ग्लोबल आइएमई बैंकमा कर्जा स्वीकृतिका क्रममा पवन कुमार साहले सहजीकरण गरेको र उद्योग सञ्चालनका नाममा उक्त रकम निकालिएको स्रोतले दाबी गरेको छ।

















