१ कात्तिक, काठमाडौं । पाकिस्तानको हवाई आक्रमणमा तीन जना अफगान क्रिकेट खेलाडीको ज्यान गएपछि अफगानिस्तानले नोभेम्बरमा हुने त्रिदेशीय टी–२० क्रिकेट श्रृंखलाबाट नाम फिर्ता लिएको छ।
पाकिस्तानको सीमावर्ती उर्गुन जिल्लामा भएको आक्रमणमा ती क्रिकेटरहरू मारिएका हुन्। अफगानिस्तान क्रिकेट बोर्ड (ACB) ले घटनापछि जारी गरेको विज्ञप्तिमा आक्रमणलाई ‘खेलकुद क्षेत्रका लागि अपूरणीय क्षति’ भएको उल्लेख गरिएको छ।
त्रिदेशीय श्रृंखला पाकिस्तानको रावलपिंडी र लाहोरमा नोभेम्बर १७ देखि २९ तारिखसम्म सञ्चालन हुने तय भएको थियो। यसमा घरेलु टोली पाकिस्तानसँगै अफगानिस्तान र श्रीलङ्काले सहभागिता जनाउने कार्यक्रम थियो। तर, अब अफगानिस्तानले श्रृंखलामा नखेल्ने निर्णय गरिसकेको छ।
अफगानिस्तान क्रिकेट बोर्डले विज्ञप्तिमार्फत क्रिकेट परिवारप्रति समवेदना व्यक्त गर्दै शान्तिपूर्ण खेल वातावरण सुनिश्चित नभएसम्म यस्ता प्रतियोगितामा सहभागी हुन नसकिने जनाएको छ।
पाकिस्तान र अफगानिस्तानबीचको कूटनीतिक सम्बन्ध पहिले देखि नै तनावग्रस्त रहेको अवस्थामा श्रृंखला तय भएको थियो। तर, पछिल्लो घटनाले दुई देशबीचको सम्बन्ध झनै चिसिने संकेत देखिएको छ।
पाकिस्तान क्रिकेट बोर्ड (PCB) ले भने अहिलेसम्म यस विषयमा कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन। क्रिकइन्फो का अनुसार, घटनाबारे थप जानकारी प्रतीक्षामा छ।

















