Logo

३ कार्तिक, काठमाडौँ । हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान एक कार्गो विमान दुर्घटनाग्रस्त हुँदा दुई जनाको मृत्यु भएको छ । एमिरेट्स एयरलाइन्सको एरोट्रान्सकार्गो सञ्चालनमा रहेको उडान नम्बर ईके ९७८८ दुबईबाट हङकङ आउँदै गर्दा धावनमार्गमा अवतरणका क्रममा दुर्घटना भएको हो ।

स्थानीय समयअनुसार बिहान करिब ३ः५० बजे विमान उत्तरी धावनमार्गमा अवतरण गर्न खोज्दा एक जमिनमा कार्यरत गाडीमा ठोक्किएको र त्यसपछि विमान समुद्रतर्फ स्किड हुँदै खसेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

हङकङ नागरिक उड्डयन विभागका अनुसार, दुर्घटनापछि विमानस्थलमा कार्यरत दुई जना ग्राउन्ड स्टाफ समुद्रमा खसेका थिए । उनीहरूलाई तत्काल उद्धार गरिए पनि अस्पतालमा मृत्यु भएको हङकङको सार्वजनिक प्रसारण संस्था आरटीएचके (RTHK) ले प्रहरी स्रोतलाई उद्धृत गर्दै जनाएको छ।

विमानमा सवार चार जना चालक दलका सदस्य भने सकुशल उद्धार गरिएका छन् र उनीहरूलाई प्राथमिक उपचारका लागि अस्पताल लगिएको बताइएको छ।

दुर्घटनापछि उत्तरी धावनमार्ग अस्थायी रूपमा बन्द गरिएको छ। तर विमानस्थलका अन्य दुई धावनमार्ग भने सञ्चालनमा रहेका छन्, जसका कारण अन्तर्राष्ट्रिय उडानहरूमा ठूलो असर नपरेको विमानस्थल प्राधिकरणले जनाएको छ। प्राधिकरणका प्रवक्ताले घटनाको कारण र परिस्थितिबारे थप विवरण दिनका लागि स्थानीय समयअनुसार बिहान १० बजे पत्रकार सम्मेलन गर्ने तयारी भएको जानकारी दिएका छन्।

उच्च सुरक्षा मापदण्ड र अत्याधुनिक प्रविधिले परिचित हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा यस्ता दुर्घटना अत्यन्त दुर्लभ मानिन्छन् । दुर्घटनाको विस्तृत अनुसन्धान सुरु गरिएको छ भने दुर्घटनाग्रस्त विमान र गाडीको भग्नावशेष हटाउने कार्य भइरहेको अधिकारीहरूले जनाएका छन्।


सम्बन्धित समाचार