५ कात्र्तिक, काठमाडौँ । देश र परिवर्तनका लागि भएको जेनजी आन्दोलनमा आफ्नो जीवन आहुति दिने शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै आज काठमाडौँको माइतीघर मण्डलामा सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ।
जेनजी युनाइटेड परिवर्तन समूहु द्वारा आयोजित यो विशेष कार्यक्रमले दाजुभाइ र दिदीबहिनीको पवित्र बन्धनलाई मात्र होइन, बरु शहीद परिवार र आन्दोलनका घाइते युवाहरूबीचको भावनात्मक एकता र सामूहिक प्रतिबद्धता लाई समेत उजागर गरेको छ।
पछिल्लो भदौ २३ र २४ गते भएको आन्दोलनमा सहिद भएकाहरूको सम्झनामा गरिएको यस कार्यक्रममा शहीद परिवारका सदस्यहरू, आन्दोलनमा घाइते भएका युवाहरू र समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सहभागी दिदीबहिनीहरूले दाजुभाइको निधारमा सप्तरङ्गी टीका लगाउँदै उनीहरूको दीर्घायु, स्वास्थ्य र राष्ट्रका लागि उनीहरूले लिएको लक्ष्य पूरा होस् भन्ने कामना गरे ।
यो सामूहिक भाइटीका केवल पर्व मनाउने औपचारिकता मात्र नभएर, आन्दोलनको क्रममा गुमेका प्रियजनहरूको त्यागलाई सम्मान गर्ने र बाँकी रहेका योद्धाहरूलाई थप ऊर्जा प्रदान गर्ने एक भावुक माध्यम बन्यो। शहीदका परिवारजन र घाइतेहरूले यसरी एकसाथ पर्व मनाउँदा उनीहरूमा भावनात्मक सुरक्षा र सामूहिक साथको अनुभूति भएको देखिएको थियो ।
कार्यक्रममा सहभागी युवाहरूले देशको परिवर्तनका लागि गरिएको संघर्ष र शहीदहरूको बलिदान कहिल्यै खेर जान नदिने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।
















