७ कात्र्तिक, काठमाडौं । तिहारको रौनकबीच सोलुखुम्बुमा भाईटीकाकै दिन साँझ भएको जिप दुर्घटनाले महाकुलुङ गाउँपालिकामा शोक छाएको छ ।
उक्त दुर्घटनामा परी ज्यान गुमाएका तीनै जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले पुष्टि गरेको छ । मृत्यु हुनेहरू महाकुलुङ गाउँपालिका वडा नम्बर ३, छेस्कामका १६ वर्षीया हवी राई, २० वर्षीया शान्ति राई र १७ वर्षीया निर्जला राई रहेका छन् ।
प्रहरीका अनुसार, माप्य दूधकोशी गाउँपालिकाबाट महाकुलुङका यात्रु बोकेर हिँडेको प्रदेश नम्बर १-०३१ च ५९२५ नम्बरको जिप माप्य दूधकोशी गाउँपालिका(६ भिरकुनामा अनियन्त्रित भई दुर्घटना भएको थियो ।
चालकसहित ११ यात्रु सवार रहेको जिप दुर्घटनामा परी चालकसहित ६ जना घाइते भएका छन् । घाइते हुनेहरूमा चालक ३२ वर्षीय श्रीध्वज राईसहित १६ वर्षीया गंगा राई, १८ वर्षीया बस्तीकला राई, १६ वर्षीया समया राई, सजना राई र १० वर्षीय बालक उमेश राई रहेका छन् ।
घाइतेहरूको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको छ भने मृतकहरूको शव पोस्टमार्टमका लागि महाकुलुङ अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
















