Logo

१० कात्र्तिक, काठमाडौं । ललितपुरको इमाडोलस्थित किष्ट मेडिकल कलेज शिक्षण अस्पतालको अवस्था आज तनावग्रस्त बनेको छ ।

उपचारको क्रममा एक सुत्केरी महिलाको मृत्यु भएपछि आक्रोशित मृतकका आफन्त र स्थानीयले अस्पताल परिसरमा तोडफोड र ढुंगामुढा गर्दा स्थिति नियन्त्रण बाहिर गएको हो ।

मृतकका आफन्तले ढुंगामुढा सुरु गरेपछि ठूलो संख्यामा खटिएको प्रहरी टोलीले भीडलाई नियन्त्रणमा लिन लाठीचार्ज गर्नुका साथै अश्रुग्याससमेत प्रहार गर्नुपरेको छ। प्रहरीले ढुंगामुढा नगर्न आग्रह गर्दा उतेजित भीडले उल्टै सुरक्षाकर्मीमाथि आक्रमण गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन बल प्रयोग गर्नुपरेको ललितपुर प्रहरीले जनाएको छ । प्रदर्शनकारीहरू ढुंगा बोकेर अस्पताल तोडफोड गर्ने उद्देश्यले पुगेका थिए । लाठीचार्ज र अश्रुग्यास प्रहारको क्रममा केही घाइते भएको बताइएको छ।

मृत्यु हुने सुत्केरी महिला मीना राई रहेको र उनको गत शुक्रबार अस्पतालमा निधन भएको थियो। यता, प्रहरीले अस्पताल छेउछाउमा अश्रुग्यास प्रहार गरेको भन्दै स्थानीय बासिन्दाहरूले आक्रोश व्यक्त गरेका छन्। हाल अस्पताल परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ।


सम्बन्धित समाचार