१० कात्र्तिक, काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा देशभरका कारागार र बालसुधारगृहहरूबाट भागेकामध्ये करिब पाँच हजार कैदीबन्दी अझै फरार रहेका छन् ।
ठूलो संख्यामा कैदीबन्दी भागेपछि समाजमा सुरक्षा चुनौती बढेको भन्दै सरकारले उनीहरूलाई नियन्त्रणमा लिन विशेष अभियान सञ्चालन गरिरहेको छ । कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेले दिएको जानकारीअनुसार, प्रदर्शन चर्केपछि देशका विभिन्न २८ वटा कारागारबाट १३ हजार ५८५ कैदी र नौ वटा बाल सुधारगृहबाट ९६४ बालबन्दी गरी कुल १४ हजार ५४९ जना भागेका थिए ।
हालसम्म नौ हजार ५८२ बन्दी कैदी र ५८२ बालबन्दी कारागार फर्किएका छन् । अझै चार हजार ५९६ कैदी र ३८६ बालबन्दी गरी कुल चार हजार ९८२ बन्दी अझै फरार छन् ।
सरकारको चेतावनी र कारबाही
सरकारले फरार कैदीबन्दीलाई अविलम्ब कारागारमा फर्किन अल्टिमेटम दिएको छ। फरार बन्दीलाई खोजी, नियन्त्रण र पक्राउ गरी कारागारमा फिर्ता गर्न सम्बन्धित जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सुरक्षा तथा अन्य निकायका प्रतिनिधि सम्मिलित फरार बन्दी खोजी तथा पक्राउ कार्यदल समेत गठन गरिएको छ। सरकारको सूचनालाई बेवास्ता गरी फरार रहेका कैदीबन्दीहरूलाई प्रचलित कानुनबमोजिम थप कारबाही गरिने विभागले चेतावनी दिएको छ।
फरार हुने क्रममा विभिन्न कारागार र सुधारगृहमा झडप हुँदा केही कैदीबन्दीको मृत्यु भएको थियो। रामेछापमा तीन, धादिङ र सप्तरीमा दुईरदुई कैदीको गोली लागेर मृत्यु भएको थियो भने नौवस्ता बालसुधारगृहमा पाँच र डोटी बालसुधारगृहमा एक बालबन्दीको झडपमा मृत्यु भएको थियो । देशभरका ७२ जिल्लामा रहेका ७५ वटा कारागार र बालगृहमा हाल ३० हजार ६४१ कैदी र बालबन्दी सजाय भोगिरहेका छन् ।
















