१० कात्र्तिक, काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने आस्थाको महापर्व छठका अवसरमा आज राष्ट्रपति र प्रधानमन्त्री दुवैले राजधानीका विभिन्न पूजास्थलमा पुगेर छठी माताको पूजा आराधना गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेल पशुपति क्षेत्रस्थित गुह्वेश्वरी मन्दिर अगाडिको बागमती किनार, गौरीघाटमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घदान गरेका छन् । राष्ट्रपति पौडेलका साथमा प्रथम महिला सविता पौडेलले पनि पूजास्थलमा अर्घ्य अर्पण गरेकी थिइन् । राष्ट्रपति पौडेललाई गुह्वेश्वरीमा राष्ट्रिय सभा सदस्य विष्णुदेवी पुडासैनी, पशुपति विकास कोषका पदाधिकारी र छठ पूजा आयोजक समितिका पदाधिकारीहरूले स्वागत गरेका थिए ।
प्रधानमन्त्री कमलपोखरीमा गरिन छठ पूजा
यसैगरी, अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की पनि छठ पूजाका लागि काठमाडौँको कमलपोखरी पुगेकी छिन् । उनी दिउँसो सवा चार बजेपछि कमलपोखरीस्थित छठ घाटमा पुगेकी हुन् । छठ पर्वको अवसरमा आज अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिन राजधानीका गुह्येश्वरी–गौरीघाट, कमलपोखरी, थापाथली, कुपण्डोल, सानेपा लगायतका स्थानमा भव्य छठघाटहरू सजाइएको छ । भजन एवं भक्ति सङ्गीतका कारण पशुपति क्षेत्रको बागमती नदी किनारको वातावरण मेलामय बनेको छ ।
आज बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधनासहित अर्घ्य दिएका वर्तालुहरू मङ्गलबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य नदिएसम्म छठ पूजास्थलमै जाग्राम बस्नेछन्। छठ व्रत गरेमा मनले चिताएको पूरा हुने धार्मिक विश्वास छ ।
















