१७ कात्र्तिक, काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भोजपुरको डिभिजन वन कार्यालयमा कार्यरत दानबहादुर श्रेष्ठ विरुद्ध झन्डै डेढ करोड रुपैयाँको अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
डिभिजन वन अधिकृत श्रेष्ठले डिभिजन वन कार्यालय इलाममा कार्यरत रहँदा पदिय अख्तियारीको दुरुपयोग गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अख्तियारको अनुसन्धानबाट खुलेको हो । अनुसन्धानका क्रममा श्रेष्ठले १ करोड ४३ लाख १८ हजार ९ सय ३७ रुपैयाँ ५० पैसा बराबरको भ्रष्टाचार गरेको ठहर अख्तियारले गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रेष्ठविरुद्ध प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद, बिगोबमोजिम जरिवाना र गैरकानुनी रूपमा आर्जन गरिएको सम्पूर्ण सम्पत्ति जफतको माग राखी सोमबार विशेष अदालत, काठमाडौँमा आरोप पत्र दायर गरेको छ । अख्तियारको यो कदमले सार्वजनिक पद धारण गरेका व्यक्तिहरूमाथि निगरानी र कारबाहीलाई निरन्तरता दिएको देखाउँछ।
















