२३ मंसिर,काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा. धवल शमशेर जबराले नेपालमा अब सक्रिय राजतन्त्र सम्भव नरहेको बताएका छन्।
मंगलबार काठमाडौंमा पार्टीले आयोजित जनसभालाई सम्बोधन गर्दै उनले भने कि पार्टी सक्रिय राजतन्त्रको पक्षमा नभएको छ र नेपालको लागि संवैधानिक राजसंस्था आवश्यक रहेको छ। जबराले यसबारे आफूहरूले पूर्वराजा ज्ञानेन्द्र शाहसँग पनि कुराकानी गरेर स्पष्ट पारेको जानकारी दिएका छन्।
उनले भने, “धेरै साथीहरूले सक्रिय राजतन्त्रको कुरा गर्छन्। हामी त्यससँग सहमत छैनौँ। अब सक्रिय राजसंस्था होइन, संवैधानिक राजसंस्था आवश्यक छ। यो कुरा मैले राजा (पूर्वराजा ज्ञानेन्द्र शाह)सँग स्पष्ट पारेको छु।”
जबराले राजसंस्थालाई नेपाली नागरिकका “अभिभावक” को रूपमा रहनुपर्ने र देशको नेतृत्व नेपालीहरूले गर्ने बताएका छन्। उनले थपे, “नेपालीका छोराछोरीले देश चलाउने हुन्। अभिभावकको भूमिका राजसंस्थाले गर्नुपर्छ। यो विषयमा हामी स्पष्ट हुनुपर्छ। सनातन हिन्दु अधिराज्य कायम गर्ने यो सभा हो, यो चेतना जगाउने ठाउँ हो।”




















