२६ मंसिर, काठमाडौँ । जेनजी आन्दोलनका क्रममा देशभर भएको क्षति र पुनःनिर्माणका लागि आवश्यक बजेटसम्बन्धी विस्तृत प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीसमक्ष पेस गरिएको छ।
आन्दोलनका कारण सार्वजनिक संरचना, निजी क्षेत्र तथा सामुदायिक सम्पत्तिमा भएको क्षतिबारे मूल्याङ्कन गर्न सरकारले गठन गरेको उच्चस्तरीय समितिले ७५ दिनपछि प्रतिवेदन बुझाएको हो ।
समितिका संयोजक तथा राष्ट्रिय योजना आयोगका सचिव रविलाल पन्थले सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रतिवेदनको सारांश प्रस्तुत गरेका थिए। मन्त्रिपरिषद्को असोज ५ गतेको निर्णयअनुसार गठन भएको समितिमा विभिन्न मन्त्रालय र सरोकारवाला निकायका प्रतिनिधि समावेश थिए।
प्रतिवेदनअनुसार आन्दोलनका क्रममा सातै प्रदेश प्रभावित बने। ५४ जिल्ला र २६२ स्थानीय तहमा भौतिक तथा मानवीय क्षति पुगेको समितिको तथ्याङ्कमा उल्लेख छ।
भदौ २३, २४ र त्यसपछिका घटनासहित कूल ७७ जनाको मृत्यु भएको प्रतिवेदनले देखाएको छ। मृत्यु हुनेमध्ये सबैभन्दा धेरै २४ गतेका घटनामा ३७ जनाले ज्यान गुमाएका थिए।
कूल २ हजार ४२९ जना घाइते भएकामध्ये १३ वर्षमुनिका १७ जना र १३ देखि २८ वर्ष उमेर समूहका एक हजार ४३३ जना रहेका छन्।
उद्योग, पूर्वाधार, कार्यालय, सवारीसाधन र भवनमा गरिएको मूल्याङ्कनअनुसार जेनजी आन्दोलनका कारण ८४ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ बराबरको क्षति पुगेको समितिले जनाएको छ।
यसअन्तर्गत सरकारी/सार्वजनिक क्षेत्रमा ४४ अर्ब ९३ करोड ७३ लाख, निजी क्षेत्रमा ३३ अर्ब ५४ करोड ८७ लाख, सामुदायिक तथा अन्य क्षेत्रमा ५ अर्ब ९७ करोड १७ लाख बराबारको क्षति पुगेको छ ।
समितिले दिएको विवरणअनुसार २ हजार १६८ संस्थागत संरचना र २ हजार ६७१ भवन क्षतिग्रस्त भएका छन्। भवन क्षतिको मात्र मूल्याङ्कन ३९ अर्ब ३१ करोड ७५ लाख बराबर पुगेको छ।
त्यसैगरी १२ हजार ६५९ सवारीसाधनमा क्षति हुँदा मात्र १२ अर्बभन्दा बढी नोक्सानी भएको उल्लेख छ।
सरकारी संरचना क्षतिको वर्गीकरणमा संघीय सरकारको हिस्सेदारी ६८ प्रतिशत, प्रदेश सरकारको १० प्रतिशत र स्थानीय तहको २२ प्रतिशत रहेको प्रतिवेदनले देखाएको छ।
समितिले प्रस्तुत प्रतिवेदनमा पुनःनिर्माण कार्ययोजना पनि समेटिएको छ। प्रभावित क्षेत्र, संरचना र सेवाको प्राथमिकताका आधारमा पुनःनिर्माणका लागि ३६ अर्ब ३० करोड २१ लाख रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ।
सरकारका उच्च स्रोतका अनुसार मन्त्रिपरिषद्ले प्रतिवेदन अध्ययन गरी आवश्यक निर्णय अघि बढाउने तयारी गरेको छ।
















