२६ मंसिर, काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज (बिहीबार) दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा बस्ने भएको छ।
आउँदो शनिबारदेखि सुरु हुने पार्टीको ११औँ महाधिवेशनका पूर्वसन्ध्यामा बस्न लागेको यस बैठकलाई महत्त्वपूर्ण मानिएको छ।
पार्टीको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा महाधिवेशन प्रतिनिधि मनोनीत गर्ने कार्ययोजना, राजनीतिक प्रस्ताव तथा अन्य तयारीसम्बन्धी एजेन्डामाथि विस्तृत छलफल हुनेछ। महाधिवेशन सफल बनाउन आवश्यक संगठनात्मक व्यवस्था, व्यवस्थापन तथा कार्यक्रमका रूपरेखालाई अन्तिम रूप दिने उद्देश्य बैठकको मुख्य केन्द्रमा रहनेछ।
एमालेले च्यासलस्थित पार्टी मुख्यालयलाई महाधिवेशन तयारीको केन्द्रबिन्दु बनाई विभिन्न समितिहरू सक्रिय रूपमा परिचालन गरेको छ। प्रतिनिधि छनोट, प्रस्ताव टुंग्याउने कामदेखि महाधिवेशन अवधिका कार्यक्रम व्यवस्थापनसम्मका विषयमा सचिवालयले आज महत्वपूर्ण निर्णय लिने बुझिएको छ।
शनिबारबाट सुरु हुने महाधिवेशनमा देशभरका प्रतिनिधि, नेतृत्व तहका पदाधिकारी तथा विभिन्न तहका पार्टी संरचनाबाट सहभागी हुने व्यवस्था मिलाइएको एमालेलाई उद्धृत गर्दै गौतमले बताए।
















