Logo

२६ मंसिर,काठमाडौं । नेपालको पवित्रस्थलमध्ये एक चितवनको देवघाट धाम अब प्लास्टिकमुक्त क्षेत्र बनेको छ। ५ धाममध्ये एक रहेको देवघाटलाई देवघाट क्षेत्र विकास समितिले चितवन, नवलपरासी र तनहुँका तीन पालिकाको समन्वयमा प्लास्टिक निषेधित क्षेत्र घोषणा गरेको हो।

५ हजार ४ सय ३४ हेक्टर क्षेत्रमा फैलिएको देवघाट धामलाई प्लास्टिकमुक्त बनाउने प्राविधिक सहयोग सहमति नामक संस्थाले गरेको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष डा. ईश्वरीराज लौडारीले बताए। उनले भने, “पवित्र तीर्थस्थललाई प्रदूषणमुक्त राख्दै ‘नदी हाम्रो सभ्यता हो’ भन्ने सन्देश दिने उद्देश्यले यो कदम उठाइएको हो।”

देशभरका खोलानदी प्रदूषणको चपेटामा परेको अवस्थामा आगामी दिनमा देवघाट धाम पनि प्रदूषित हुनसक्ने सम्भावना देखिँदै आएको थियो। त्यसैले भरतपुर महानगरपालिका, गैडाकोट नगरपालिका र देवघाट गाउँ विकास समितिको सहकार्यमा छिट्टै प्लास्टिकमुक्त क्षेत्रको घोषणा गरिएको हो।

सहमति संस्थाका अध्यक्ष होमनाथ सुबेदीले भने, “नारायणी नदी संरक्षण अभियानअन्तर्गत हामीले लामो समयदेखि काम गर्दै आइरहेका छौँ। देवघाट नेपालको महत्वपूर्ण तीर्थस्थल भएकाले यसलाई प्लास्टिकमुक्त बनाउने निर्णय गरिएको हो।”

देवघाट क्षेत्र विकास समितिका अनुसार, प्लास्टिकमुक्त क्षेत्र घोषणा सँगै फोहोर संकलन स्थल, सार्वजनिक शौचालय र खानेपानी सुविधा जस्ता पूर्वाधार निर्माणका काम पनि भइरहेको छ।


सम्बन्धित समाचार