Logo

२९ पुष, वीरगञ्ज । स्व. गोपाल गिरी क्रियाशील पत्रकारिता पुरस्कार यस वर्ष वीरगञ्जका क्रियाशील पत्रकार गोविन्द देवकोटालाई प्रदान गरिने भएको छ ।

पर्सा जिल्लाका पूर्वमेयर तथा नेपाल पत्रकार महासंघ पर्सा शाखाका पूर्वअध्यक्ष स्व. गोपाल गिरीको स्मृतिमा स्थापना गरिएको यो पुरस्कार पत्रकारितामा दीर्घकालीन योगदान पुर्‍याउने व्यक्तिलाई प्रदान गरिँदै आएको छ । उनी तत्कालीन वीरगञ्ज महानगरपालिकाको मेयर हुँदा वि.सं. २०६० माघ १ गते तत्कालीन माओवादी विद्रोहीबाट हत्या भएका थिए ।

तीन दशकभन्दा बढी समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय देवकोटा सामुदायिक रेडियो प्रसारक संघका वरिष्ठ उपाध्यक्ष तथा वीरगञ्जको सामुदायिक रेडियो नारायणी एफएमका अध्यक्ष हुनुहुन्छ । उहाँ रेसखबर अनलाइनको संस्थापक समेत रहनुभएको छ ।

यो पुरस्कारबाट यसअघि पर्साका विभिन्न पत्रकारहरू पुरस्कृत भइसकेका छन् । तीमा बृजलाल पासवान, शत्रुघन नेपाल, ध्रुव साह, प्रताप श्रेष्ठ, महेशचन्द्र गौतम, विजय भण्डारी, केसी लामिछाने, श्याम बन्जारा, ओमप्रकाश खनाल, कन्हैयालाल केसरी, गया यादव र पंकज श्रेष्ठका नाम प्रमुख छन् ।

यो पुरस्कारले वीरगञ्ज तथा पर्सा क्षेत्रको पत्रकारिता क्षेत्रमा निरन्तर योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई प्रोत्साहन मिल्ने गरेको छ । गोविन्द देवकोटाको योगदानलाई सम्मान गर्दै प्रदान गरिने यो पुरस्कारले स्थानीय पत्रकारिताको महत्वलाई उजागर गर्ने अपेक्षा गरिएको छ ।


सम्बन्धित समाचार