Logo

१९ माघ,काठमाडौं । जिल्ला प्रशासन कार्यालय झापाले फेसबुक, युट्युब लगायतका सामाजिक सञ्जालमार्फत ‘कुन पार्टी र चुनाव चिह्नमा मतदान गर्नुहुन्छ’ भन्ने प्रश्न सोधी मतदाताको गोपनीयता भङ्ग नगर्न आग्रह गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी एवं निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तेजप्रसाद प्रसाइँ र अञ्जन न्यौपानेले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गर्नुभएको हो। केही अनलाइन सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले मतदातासँग कुन दल, उम्मेदवार तथा चुनाव चिह्नमा मतदान गर्ने भन्ने प्रश्न गरी मतदाताको गोपनीयता भङ्ग गरिरहेको सूचना प्राप्त भएकाले त्यसलाई रोक्न सार्वजनिक सूचना जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

निर्वाचन आचारसंहिता अनुगमन अधिकृत प्रसाइँका अनुसार मतदानको विषय पूर्ण रूपमा गोप्य रहने व्यवस्था संविधान तथा निर्वाचन कानूनले सुनिश्चित गरेको हुँदा यस्ता गतिविधि निर्वाचन आचारसंहिताविपरीत हुने जनाइएको छ।

विज्ञप्तिमा कसैले यस्तो कार्यलाई अटेर गरी निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही प्रक्रिया अघि बढाइने चेतावनीसमेत दिइएको छ।

जिल्ला प्रशासन कार्यालयले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र मर्यादित बनाउन सबै पक्षलाई जिम्मेवार भएर आ–आफ्नो भूमिका निर्वाह गर्न आग्रह गरेको छ।


सम्बन्धित समाचार