Logo

५ चैत,वीरगञ्ज । पर्साको पोखरिया नगरपालिका–बसन्तपुर स्वास्थ्य चौकीमा कुष्ठरोग सम्बन्धी विशेष कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा कुल ४९ जनाको सहभागिता रहेको थियो।

कार्यक्रम अन्तर्गत एक जनामा कुष्ठरोग पुष्टि भई उपचार सुरु गरिएको छ भने एक जना जटिल प्रकृतिका बिरामीलाई थप उपचारका लागि आनन्दवन कुष्ठरोग अस्पतालमा प्रेषण गरिएको छ।

त्यसैगरी, पाँच जनाको घाउको उपचार गरिएको छ। उनीहरूलाई घरमै बसेर घाउको उचित हेरचाह गर्ने तरिका पनि सिकाइएको स्वास्थ्यकर्मीहरूले बताएका छन्। कार्यक्रममा ७५ जनाको अङ्गभङ्ग पुनःस्थापना मूल्यांकन गरी आवश्यक सर्जरीका लागि प्रेषण गरिएको जानकारी दिइएको छ।

नयाँ सम्भावित बिरामीहरूको सम्पर्क परीक्षण समेत गरिएको छ। साथै पोखरिया नगरपालिका र समग्र जिल्लामा कुष्ठरोग नियन्त्रणका लागि आवश्यक परीक्षण तथा रोकथामका उपायहरू अवलम्बन गर्ने व्यवस्था मिलाइएको छ।

कार्यक्रममा स्वास्थ्यकर्मी, समुदायस्तरका कार्यकर्ता तथा स्थानीयहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमको व्यवस्थापन कुष्ठरोग जिल्ला अधिकृत रामहरी रेगी र कार्यक्रम प्रबन्धक अमजद आली मियानले गरेका थिए।

कार्यक्रम सफल बनाउन स्वास्थ्य कार्यालय तथा The Leprosy Mission Nepal ले सहयोग गरेको थियो। साथै Leprosy Referral Clinic मार्फत कुष्ठरोग प्रभावित व्यक्तिहरूलाई समयमै उपचार र आवश्यक प्रेषणको व्यवस्था गरिएको जनाइएको छ।

यस कार्यक्रमले कुष्ठरोगको समयमै पहिचान, उपचार र पुनःस्थापनामा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।


सम्बन्धित समाचार
भर्खरै