५ चैत,वीरगञ्ज । पर्सा–२ का नवनिर्वाचित सांसद सुशील कुमार कानुले घरेलु हिंसाबाट गम्भीर घाइते भएकी हरिकला देवी सहनीको उपचार खर्च व्यहोर्ने प्रतिबद्धता जनाएका छन्।
बाराको परवानीपुर गाउँपालिकास्थित एलएस न्युरो अस्पतालमा उपचाररत सहनीलाई बिहीबार भेट्दै सांसद कानुले उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्। भेटका क्रममा उनले पीडितमाथि क्रूर आक्रमण गर्ने श्रीमान् विश्वनाथ सहनीलाई यथाशीघ्र पक्राउ गरी कडा कानुनी कारबाही गर्न प्रहरी प्रशासनसँग आग्रह गरे।
सांसद कानुले पीडितको उपचारमा कुनै कमी हुन नदिने आश्वासन दिँदै सम्पूर्ण उपचार खर्च आफूले व्यवस्थापन गर्ने बताए। “आफ्नो तलबबाट वा अन्य माध्यमबाट भए पनि उपचारको सबै खर्च व्यहोर्ने जिम्मेवारी लिन्छु,” उनले भने।
घटनाका बेला आफू काठमाडौंमा पार्टीको अभिमुखीकरण कार्यक्रममा रहेको र जानकारी पाउनासाथ पार्टीका प्रतिनिधिलाई अस्पताल पठाएर अवस्थाबारे बुझ्न लगाएको उनले जानकारी दिए। काठमाडौंबाट फर्किएलगत्तै अस्पताल पुगेर पीडितसँग भेटघाट गरेको पनि उनले बताए।
सांसद कानुले पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकसँग समेत घटनाबारे जानकारी लिँदै दोषीलाई छिटो नियन्त्रणमा लिन आग्रह गरेको बताए। “सामान्य घरायसी विवादका क्रममा गरिएको यस्तो अमानवीय अपराधमा संलग्नलाई कडा कारबाही हुनुपर्छ,” उनले जोड दिए।
महिला हिंसा नियन्त्रणका लागि नीतिगत सुधार आवश्यक रहेको उल्लेख गर्दै उनले संसद् अधिवेशन सुरु भएपछि यस विषयलाई सदनमा उठाउने प्रतिबद्धता व्यक्त गरे। साथै पीडित महिलाका लागि राहत व्यवस्था गर्न सरकारसँग माग गर्ने पनि उनले बताए।
पर्साको पर्सागढी नगरपालिका–७ मा आइतबार बिहान घरायसी विवादका क्रममा विश्वनाथ सहनीले आफ्नी श्रीमती हरिकला देवी सहनीमाथि क्रूर आक्रमण गरेका थिए। उनले सहनीको हातखुट्टा र मुख बाँधेर काठ काट्ने आरी प्रयोग गरी खुट्टा काटेका थिए।
गम्भीर अवस्थामा रहेकी सहनीलाई प्रहरी चौकी बढनियारबाट प्रहरी सहायक निरीक्षक सञ्जय पाण्डेको नेतृत्वमा पुगेको टोलीले उद्धार गरेको थियो। अत्यधिक रक्तस्राव भइरहेकी उनलाई प्रारम्भिक उपचारपछि वीरगञ्जस्थित नारायणी अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि एलएस न्युरो अस्पतालमा सारिएको थियो।
घटनापछि फरार रहेका आरोपी विश्वनाथ सहनीको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। पीडित सहनी बाराको परवानीपुर गाउँपालिका–५ निवासी हुन्।
यस घटनाले घरेलु हिंसाको गम्भीरता र यसको नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता पुनः उजागर गरेको छ।


















