Logo

६ चैत,वीरगञ्ज । लामो समय भारतका बालिका गृहमा आश्रित रहेका दुई नेपाली युवतीलाई स्वदेश फिर्ता ल्याइएको छ। मानव बेचबिखन विरुद्ध सक्रिय संस्था आफन्त इन्डिया फाउन्डेशनकी रिप्याट्रेशन अधिकृत सुनिता जैरुले धनुषाको धनुषाधाम र पर्साको वीरगञ्जका २२ वर्षीय दुई युवतीलाई वीरगन्जमा लिएर आएकी हुन्।

हाल दुबै युवतीलाई आफन्त नेपाल, वीरगञ्ज शाखाको आश्रय गृहमा राखिएको छ। शाखा प्रमुख मनु रानाले जानकारी दिइन् कि युवतीहरूको परिवारसँग सम्पर्क कायम भइसकेको छ र उनीहरुलाई लिन आफन्तजन वीरगन्ज आउँदैछन्।

वीरगञ्जकी युवती सन् २०१९ मा १५ वर्षको उमेरमा भारत उत्तर प्रदेश, गोन्डा निवासी युवकसँग विवाह भएकी थिइन्। घरमा शारीरिक र मानसिक यातना सुरु भएपछि उनी २०२३ मा घर छोडेर हिँडेको र भारत अयोध्यास्थित राजकीय महिला शरणालयमा आश्रय पाएकी थिइन्।

त्यस्तै, धनुषाधामकी युवती १८ वर्षको उमेरमा विवाह भएकी थिइन्। पति मानसिक रूपमा अस्वस्थ भएपछि अत्यधिक कुटपिट सुरु भयो र समाजले उनलाई देवरसँग विवाह गराएको थियो। दुबै पतिले शोषण गर्दा उनी घर छोडेर भारतको राजस्थान, भरतपुर पुगेकी थिइन् र त्यहाँ ‘अपना घर’ नामक संस्थाले उनलाई बालिका गृहमा राखेको थियो।

सुनिता जैरुले दिल्लीस्थित नेपाली दूतावास र भारतीय प्रहरीसँगको समन्वयमा दुबै युवतीको स्वदेश फिर्ती सम्भव भएको बताइन्।

यसअघि, आफन्त नेपाल, वीरगञ्ज शाखाले यस वर्षको अढाई महिनामा ६३ महिलाको उद्धार गरेको छ। शाखा प्रमुख रानाका अनुसार, उद्धारमा परेका मध्ये दुईलाई सेफ होममा तालिमका लागि पठाइएको र ६१ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ।

सन् २०२५ मा यस शाखाले २१५ बेचबिखनको जोखिममा रहेका चेलीको उद्धार गरेको थियो। तीमध्ये २०६ जनालाई परिवारको जिम्मा लगाइएको, ९ जनालाई तालिमका लागि गृहमा पठाइएको, ५ जनालाई मानव बेचबिखन ओसार–पसारको मुद्दामा प्रहरीको सहयोगमा मुद्दा दर्ता गरिएको र ४ जनामा जबरजस्ती करणीको मुद्दा दर्ता गरिएको थियो।


सम्बन्धित समाचार