७ चैत,काठमाडौं । वर्षापछि खसेको पहिरोका कारण सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध भएको छ।
पाल्पा जिल्ला को तिनाउ गाउँपालिका–३ दोभानस्थित सिद्धबाबा क्षेत्रमा आज बिहानैदेखि परेको वर्षापछि ढुङ्गासहितको पहिरो झरेर सडक पूर्ण रूपमा बन्द भएको हो।
राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल का अनुसार अविरल वर्षाका कारण उक्त क्षेत्रमा पहिरो खसेपछि सवारी आवागमन पूर्ण रूपमा प्रभावित भएको छ।
त्यस्तै पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाउन्ने सडकखण्डमा पनि वर्षाका कारण बाटो चिप्लो भई दुवैतर्फ सवारी साधन सञ्चालन रोकिएको छ।
सवारी साधनलाई पाल्पा रुट हुँदै वैकल्पिक मार्ग प्रयोग गर्न निर्देशन दिइए पनि उक्त मार्गसमेत अवरुद्ध भएको जनाइएको छ। वर्षा जारी रहेकाले सडक खुलाउन केही समय लाग्ने प्रहरीले जनाएको छ।