Logo

७ चैत,काठमाडौं । देशभर अहिले अधिकांश स्थानमा बदली रहेको छ भने विभिन्न प्रदेशमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा तथा कर्णाली र बागमती प्रदेशका केही स्थानका साथै मधेश प्रदेशका एक/दुई स्थानमा वर्षा भइरहेको छ।

महाशाखाले जनाएको अनुसार वर्षा गराउने प्रणाली हाल मध्य नेपालमा केन्द्रित रहेको छ र यो क्रमशः पूर्वतर्फ सर्दै गएको छ। पछिल्लो एक घण्टामा विशेषगरी मध्य क्षेत्रमा यसको प्रभाव बढी देखिएको छ।

आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी र कर्णाली प्रदेशका केही र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ। दिउँसोपछि विशेषगरी मध्य र पूर्वी क्षेत्रमा हावाहुरी, मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा हुने अनुमान गरिएको छ।

यसअघि हिजो दिउँसो र बेलुकी पश्चिम र मध्य क्षेत्रमा मध्यम वर्षा भएको थियो भने उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज रातिदेखि मौसममा क्रमिक सुधार आउने अपेक्षा गरिएको छ। तर हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना तथा छाना उडाउने, साथै विद्युत्, सञ्चार, हवाई र सडक यातायात प्रभावित हुने जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

मौसमविद्हरूले हावाहुरी र चट्याङको समयमा सकेसम्म घरभित्रै बस्न तथा बाहिर भए सुरक्षित स्थानमा आश्रय लिन सर्वसाधारणलाई सुझाव दिएका छन्।


सम्बन्धित समाचार