७ चैत,काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार देशभर पछिल्लो २४ घण्टामा ३० जिल्लामा ३६ वटा विपद्का घटना भएका छन्।
चैत ६ गते बिहान १० बजेदेखि ७ गते बिहान १० बजेसम्मको अवधिमा भएका घटनामा परी एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।
प्राधिकरणका अनुसार सबैभन्दा बढी चट्याङका घटना भएका छन्। ९ जिल्लामा भएका १० वटा चट्याङका घटनामा १० जना घाइते भएका छन्। यस्तै ७ जिल्लामा भएका ७ वटा आगलागीका घटनामा २ जना घाइते भएका छन्। लेक लाग्ने (उच्च स्थानमा हुने समस्या) का २ जिल्लामा २ घटना हुँदा एक जनाको मृत्यु र एक जना घाइते भएका छन्।
यसका साथै अविरल वर्षा, पहिरो, हावाहुरी तथा जनावर आक्रमणका घटनाहरू पनि दर्ता भएका छन्।
३० लाखभन्दा बढी क्षति
विपद्का यी घटनाबाट ठूलो मात्रामा भौतिक तथा आर्थिक क्षति भएको छ। प्राधिकरणका अनुसार करिब ३० लाख ८६ हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। साथै ३० वटा चौपायाको समेत क्षति भएको छ।
उद्धार तथा राहत कार्यका लागि देशभर १ सय ७७ जना प्रहरी परिचालन गरिएको जनाइएको छ।
वर्षभरको तथ्यांक झनै चिन्ताजनक
२०७२ वैशाख १ गतेदेखि चैत ७ गतेसम्मको अवधिमा नेपालभर ७ हजार १ सय ४० वटा विपद्का घटना भएका छन्। ती घटनामा ४ सय ७९ जनाको मृत्यु भएको छ भने ३८ जना अझै बेपत्ता छन्। यस अवधिमा १ हजार ८ सय ७० जना घाइते भएका छन्।
गत एक वर्षमा आगलागीका ३ हजार ४ सय ४३ घटना हुँदा १०२ जनाको मृत्यु भएको छ। त्यस्तै सर्पदंशका ५ सय ९६ घटनाबाट ९८ जनाले ज्यान गुमाएका छन्। पहिरोका ६०१ घटनाबाट ७४ जनाको मृत्यु भएको छ।
यसैगरी जनावर आक्रमणबाट ५५, चट्याङबाट ४७ र बाढीबाट ३८ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ। कुल १२ हजार ९ सय ९४ परिवार विपद्का घटनाबाट प्रभावित भएका छन्।

















