७ चैत,वीरगञ्ज । यस वर्ष पर्सा जिल्लामा धान उत्पादनमा उल्लेख्य गिरावट आएको छ। कृषि ज्ञान केन्द्र पर्सा का अनुसार गत वर्षको तुलनामा २४ हजार ९ सय ९७ मेट्रिक टन कम धान उत्पादन भएको हो।
केन्द्रका अनुसार यस वर्ष जिल्लाभर ४७ हजार १ सय ३० हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो। प्रतिहेक्टर ३ दशमलव ६७ मेट्रिक टन उत्पादनदरका आधारमा कुल १ लाख ७२ हजार ९ सय ६७ मेट्रिक टन धान उत्पादन भएको छ।
गत आर्थिक वर्षमा सोही क्षेत्रफलमा खेती गर्दा प्रतिहेक्टर ४ दशमलव २ मेट्रिक टन उत्पादनदरका आधारमा १ लाख ९७ हजार ९ सय ४० मेट्रिक टन धान उत्पादन भएको थियो। यस अनुसार यस वर्ष उत्पादन १२ दशमलव १६ प्रतिशतले घटेको हो।
कृषि ज्ञान केन्द्र पर्साका प्रमुख रामजीवन ठाकुर का अनुसार असोज महिनामा परेको बेमौसमी वर्षा र त्यससँगै आएको बाढीले धान बालीमा गम्भीर क्षति पुर्याएको हो। “यस वर्ष सुक्खाका कारण रोपाइँ ढिलो भयो, त्यसपछि दाना लाग्ने समयमा परेको भारी वर्षा र बाढीले बालीमा थप असर गर्यो,” उनले बताए।
पर्साका अधिकांश स्थानीय तहमा धान मुख्य बालीका रूपमा लगाइने भएकाले उत्पादन घट्दा किसानको आम्दानीमा प्रत्यक्ष असर पर्ने देखिएको छ।

















