७ चैत,सप्तरी । राष्ट्रिय मानवअधिकार आयोग ले सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ पत्थरगाढास्थित एक इँटा उद्योगबाट २३ जना भारतीय कामदारको उद्धार गरेको छ।
राजु साहले सञ्चालन गर्दै आएको बाबा धर्मराज इँटा उद्योगमा कार्यरत भारतको आसाम राज्यका ती कामदारलाई आयोगको मधेश प्रदेश कार्यालय, जनकपुरले उद्धार गरेको हो।
आयोगका मधेश प्रदेश प्रमुख बुद्धनारायण सहनी का अनुसार जबरजस्ती काम लगाएको र ज्याला नदिएको भन्ने अनलाइन उजुरीका आधारमा स्थलगत निरीक्षण गरी बिहीबार कामदारहरूको उद्धार गरिएको हो।
उद्धार कार्य जिल्ला प्रहरी कार्यालय सप्तरी को सहकार्यमा सम्पन्न गरिएको जनाइएको छ। उद्धार गरिएका कामदारलाई जनकपुर ल्याइएको छ।आयोगका अनुसार ती कामदारहरू ठेकेदारमार्फत उद्योगमा ल्याइएका थिए। उद्धार गरिएकामध्ये १२ जना महिला, सात पुरुष र चार जना बालबालिका रहेका छन्।
आयोगले आवश्यक प्रक्रिया पूरा गरी कामदारहरूलाई परिवारको जिम्मा लगाउने तथा उद्योग सञ्चालकविरुद्ध कानुनअनुसार कारबाही अघि बढाउने जनाएको छ।

















