Logo

७ चैत,काठमाडौं । नेपाल प्रहरी अन्तर्गतको लागुऔषध नियन्त्रण ब्युरोले खैरो हेरोइन र चरेससहित पाँच जनालाई पक्राउ गरेको छ। दुई फरक घटनामा उनीहरू पक्राउ परेका हुन्।

ब्युरोका प्रवक्ता दुर्गाराज रेग्मी का अनुसार पहिलो घटनामा विद्यालय तथा कलेजका विद्यार्थीलाई समेत लागुऔषध बिक्री भइरहेको सूचनाका आधारमा ललितपुरबाट एक महिला पक्राउ परेकी छन्।

पक्राउ पर्ने मकवानपुरको थाहा नगरपालिका–११ की ३८ वर्षीया कल्पना तामाङ हुन्। उनीसँग २ केजी ३०० ग्राम चरेस र डिजिटल तराजु बरामद गरिएको प्रहरीले जनाएको छ।

अर्को घटनामा भारतबाट काठमाडौं ल्याइएको खैरो हेरोइन कारोबारमा संलग्न रहेको आरोपमा तीन जनालाई काठमाडौं महानगरपालिका–१५ कारखाना चोकबाट पक्राउ गरिएको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकका विशाल श्रेष्ठ, अर्जुन थापा र काभ्रेका सागर तामाङ रहेका छन्। उनीहरूको साथबाट ३७ ग्राम ४०० मिलिग्राम खैरो हेरोइन र डिजिटल तराजु बरामद भएको छ।

यस घटनामा थप अनुसन्धान गर्दै जाँदा भारतको बिहार राज्यबाट खैरो हेरोइन आपूर्ति गर्ने २५ वर्षीय विपुल बर्मालाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीसँग १०० ग्राम खैरो हेरोइन फेला परेको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।


सम्बन्धित समाचार