८ चैत,वीरगञ्ज । वीरगञ्जस्थित सुख्खा बन्दरगाहमा कोइला ह्यान्डलिङ गर्ने तरिकामा गरिएको परिवर्तनले स्थानीय बासिन्दाहरू थप समस्यामा परेका छन्। अहिले कोइला सीधै बन्दरगाह क्षेत्रमा अनलोड हुन थालेपछि वरपरका बस्तीमा धुलो प्रदूषण तीव्र रूपमा फैलिएको गुनासो बढ्दै गएको छ।
यसअघि रेलमार्फत आउने कोइला भारतको रक्सौल रेल्वे यार्डमा अनलोड हुने गरेको थियो। तर हाल प्रणाली परिवर्तन गरी कोइला सीधै वीरगञ्जस्थित बन्दरगाहमै झार्न थालिएको छ, जसका कारण धुलो प्रत्यक्ष रूपमा मानव बस्ती नजिक फैलिन थालेको हो।
स्थानीय प्रकाश तिवारीका अनुसार दैनिक रूपमा घर, सडक तथा आसपासका क्षेत्रमा कालो धुलो जम्ने समस्या बढेको छ। “हावामा निरन्तर प्रदूषण रहँदा सास फेर्न गाह्रो भइरहेको छ,” उनले बताए।
यस विषयमा मुख्य रूपमा नेपाल इन्टरमोडल ट्रान्सपोर्ट विकास बोर्डको भूमिकामाथि प्रश्न उठ्न थालेको छ। स्थानीयका अनुसार कोइला जस्ता धुलो उत्पन्न गर्ने सामग्रीको व्यवस्थापनका लागि आवश्यक संरचना बस्तीबाट टाढा राखिनुपर्ने भए पनि त्यसतर्फ ध्यान दिइएको छैन।
वीरगञ्ज महानगरपालिका–२५ का वडाअध्यक्ष आशुतोष चतुर्वेदीले पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा समेत कुनै सुनुवाइ नभएको गुनासो गरे। उनले तत्काल सुख्खा बन्दरगाहमा कोइला अनलोड गर्ने कार्य बन्द गर्नुपर्ने माग गरेका छन्। “यसले नजिकका गाउँ मात्र होइन, अन्य क्षेत्रसमेत प्रभावित भइरहेका छन्,” उनले भने।
उनका अनुसार यस विषयमा चाँडै सरकारसमक्ष डेलिगेसन जाने तयारी भइरहेको छ।
बन्दरगाह क्षेत्रमा मकै, सोयाबिन, चामल, चिनी, नुनजस्ता खाद्य सामग्री तथा मलसमेत ठूलो मात्रामा भण्डारण र ढुवानी हुने गर्दछ। यस्तो अवस्थामा कोइलाको धुलो ती वस्तुहरूमा मिसिन सक्ने जोखिमले खाद्य सुरक्षा र जनस्वास्थ्यमा गम्भीर असर पार्ने सम्भावना रहेको देखिएको छ।


















