८ चैत,काठमाडौं । कपिलवस्तु जिल्लाको महाराजगञ्ज नगरपालिकास्थित बरगदा गाउँमा शनिबार बिहान मुस्लिम समुदायका केही युवाले काली मन्दिरको भजन बज्ने साउण्ड सिस्टम तोडफोड गरेपछि उत्पन्न विवाद सामाजिक तनावको रूप लिएर उग्र रूप लिएको छ।
घटनापछि हिन्दू समुदायका युवाहरूले दोषीमाथि कारबाहीको माग गर्दै प्रदर्शन गरेका थिए। प्रदर्शन नियन्त्रणका क्रममा प्रहरीले गोली चलाउँदा ४ जना घाइते भएका छन्। घाइतेमा महाराजगञ्ज नगरपालिका-६ का २३ वर्षीय अरुण यादव, २१ वर्षीय महेन्द्र रैदास, २५ वर्षीय प्रदीप पासी र कृष्णनगर नगरपालिका-७ का २० वर्षीय भानु पासी छन्। घाइतेमध्ये अरुण यादवको पेटमा गोली लागेको र उनको अवस्था गम्भीर रहेको छ। उनलाई थप उपचारका लागि भैरहवाबाट चितवन लगिएको छ। बाँकी ३ जनाको भैरहवास्थित मेडिकल कलेजमा उपचार भइरहेको छ। प्रदर्शनका क्रममा ७० वर्षीय काशी रैदासको टाउकोमा चोट लागेको भए पनि उनको अवस्था सामान्य रहेको छ।
जिल्ला सुरक्षा समितिको बैठकले शनिबार दिउँसोदेखि लगाएको निषेधाज्ञा अझै जारी रहेको छ। पूर्वमा हुलाकी चौक, पश्चिममा बहादुरगंज चौक, दक्षिणमा हर्दौना र उत्तरमा महाराजगंज बजारसम्म लागू भएको निषेधाज्ञालाई अब पूर्वमा लवनी, पश्चिममा वर्गदी पुल, उत्तरमा पचेहरा र दक्षिणमा बभनी चौकसम्म विस्तार गरिएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले जनताको सुरक्षा र धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न जिल्लाका निर्वाचित सांसद, स्थानीय पालिकाका प्रमुख र प्रतिनिधि, साथै धार्मिक नेता तथा अगुवासँग निरन्तर संवाद भइरहेको जानकारी दिए। स्थानीय प्रशासनले सबै पक्षसँग संवाद गर्दै शान्ति स्थापना र समुदायबीच आपसी मेलमिलाप बढाउन पहल गरिरहेको छ।

















