८ चैत,काठमाडौं । अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डमा सडक स्तरोन्नति (पक्कीकरण) कामलाई तीव्रता दिने उद्देश्यले दुई हप्ताका लागि राति यातायातमा पूर्ण रोक लगाइएको छ।
डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ कि सडकको स्तरोन्नतिको कामलाई तीव्र बनाउँदै शनिबार रातिदेखि आगामी चैत २० गतेसम्म राति ६ बजे देखि बिहान ५ बजे सम्म सवारीसाधन आवागमन बन्द गरिएको हो। तर टिपरलगायत मालवाहक सवारीसाधनलाई पूर्णरूपमा रोक लगाइएको छ।
कार्यालय प्रमुख, सिनियर डिभिजनल इन्जिनियर सुनम योगेशका अनुसार चार किलोमिटर लामो सडकखण्डमध्ये चैतमा २.५ किलोमिटर पक्कीकरण पूरा गर्ने लक्ष्य राखिएको छ भने बाँकी भाग आगामी वैशाखमा सम्पन्न गर्ने योजना छ।
योगेशले बताएअनुसार सडकखण्डमा सुरुमा ‘सिटीभी’ हाल्ने र त्यसपछि लक्ष्यअनुसार कालोपत्र गर्ने काम अघि बढाइनेछ। यसअघि निर्माण व्यवसायीको लापरवाहीका कारण स्तरोन्नति कार्य रोकिएको थियो। नयाँ निर्माण कम्पनीसँग गत कात्तिकमा सम्झौता भएयता विभिन्न स्थानमा कटिङको काम र अन्य तयारी पूरा गरी स्तरोन्नतिलाई तीव्रता दिइएको छ।
सडक स्तरोन्नतिका लागि १४ महिनामा काम सम्पन्न गर्नेगरी सीएनएवान काली जेभीसँग भ्याटबाहेक ३१ करोड ५६ लाखमा ठेक्का सम्झौता गरिएको छ। हाल साना संरचना र टेवा पर्खाल निर्माणको काम भइरहेको र चिसो मौसमको कारण सतहको कालोपत्र काम स्थगित गरिएको छ।
सात मिटर चौडाइको बन्ने सडकखण्डमा पहिरो व्यवस्थापनका लागि नयाँ प्रविधि प्रयोग गरिने कार्यालयले जनाएको छ।
यस सडकखण्डमा निर्माणमा ढिलासुस्ती हुँदा तीन वर्षदेखि यात्रा कष्टकर बन्दै आएको थियो। पुरानो ठेक्का रद्द भएपछि गत साउनमा पुनः बोलपत्र आह्वान गरिएको थियो।
धुलिखेल–खावा सडकखण्ड अरनिको राजमार्ग हुँदै चीनको उत्तरीनाका तातोपानी र सिन्धुपाल्चोक, दोलखा, रामेछापजस्ता जिल्लातर्फ जाने मुख्य मार्ग हो। कार्यालयका अनुसार पहिलोपटक नेपालमा ग्राभेलमा २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाएर बेस बनाइने र दुई चरणमा कालोपत्र (DBM र आस्फाल्ट) गर्ने योजना रहेको छ।

















