८ चैत,काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसचिव केदारबहादुर अधिकारीसहित २१ जना र ठेकेदार कम्पनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
अख्तियारले तत्कालीन सचिव अधिकारीसँगै नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशकहरू सञ्जीव गौतम, राजन पोखरेल र प्रदीप अधिकारीलाई पनि प्रतिवादी बनाएको छ। यसैगरी प्राधिकरणका इन्जिनियर, लेखा अधिकृत तथा चिनियाँ ठेकेदार कम्पनी China CAMC Engineering Co. Ltd. र परामर्शदाता ERMC/A-not/Slate JV का प्रतिनिधिहरू पनि मुद्दामा तानिएका छन्।
यस प्रकरणमा अख्तियारले करिब ४६ करोड १५ लाख ८४ हजार ४३४ रुपैयाँ बिगो दाबी गरेको छ।
अभियोगपत्रअनुसार विमानस्थल निर्माणका लागि चिनियाँ एक्जिम बैंकको ऋण सहयोगमा गरिएको EPC मोडलको सम्झौतामा परामर्श सेवाका लागि २८ लाख अमेरिकी डलर छुट्याइएको थियो। तर उक्त रकम प्रयोग नगरी प्राधिकरणका अधिकारीहरूले आन्तरिक स्रोतबाट थप ५० करोडभन्दा बढी लागत स्वीकृत गराई दोहोरो खर्च गराएको आरोप छ।
त्यसैगरी ठेक्का सर्तविपरीत सीमित प्रतिस्पर्धाबाट परामर्शदाता नियुक्त गरिएको र चिनियाँ ठेकेदार कम्पनीले गर्नुपर्ने काममा लागत बढाउन मूल्य तालिकामा हेरफेर गरिएको पनि अनुसन्धानबाट खुलेको अख्तियारको दाबी छ।
इन्जिनियरिङ डिजाइनमा परिमाण घटेका सामग्रीको मूल्य नघटाई तथा थपिएका सामग्रीको मूल्य अस्वाभाविक रूपमा बढाएर भुक्तानी लिएको आरोप समेत लगाइएको छ।
निर्माण सम्पन्न भएर सञ्चालनमा आइसके पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नियमित हुन नसकेको अवस्थामा यो ठूलो भ्रष्टाचार प्रकरण सार्वजनिक भएको हो।

















