८ चैत,काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री सुधा गौतमले अर्थ मन्त्रालयको असहयोगका कारण देशका सरकारी अस्पतालहरू गम्भीर संकटमा परेको बताएकी छन्।
मन्त्रालयमा आफ्नो पाँच महिने कार्यकालको समीक्षा गर्न आयोजित कार्यक्रममा मन्त्री गौतमले स्वास्थ्य बिमा कार्यक्रम नै धरापमा परेको भन्दै अर्थ मन्त्रालयप्रति असन्तुष्टि व्यक्त गरिन्।
उनका अनुसार स्वास्थ्य बिमा सेवा सञ्चालनका लागि मन्त्रालयले सात अर्ब रुपैयाँ माग गरेकोमा अर्थ मन्त्रालयले मात्र एक अर्ब रुपैयाँ उपलब्ध गराएको छ।
“कात्तिकसम्मको हिसाब निकालेर सात अर्ब माग्यौँ, तर जम्मा एक अर्ब मात्र पायौँ,” मन्त्री गौतमले भनिन्, “निर्वाचनपछि बाँकी रकम दिने प्रतिबद्धता जनाए पनि अहिले अर्थ मन्त्रालय जिम्मेवारीबाट पन्छिएको छ।”
उनले अर्थ मन्त्रालय ‘कुलिङ पिरियड’ मा व्यस्त रहेको टिप्पणी गर्दै स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा यस्तो व्यवहार बुझिनसक्नु भएको बताइन्।
स्वास्थ्य मन्त्रालयले आफ्नै विभिन्न कार्यक्रम कटौती गरेर ७५ करोड रुपैयाँ बिमा कार्यक्रममा व्यवस्थापन गरेको भए पनि समग्र कार्यक्रम प्रभावित भएको उनको भनाइ छ।
मन्त्री गौतमका अनुसार स्वास्थ्य क्षेत्रमा मासिक करिब २ अर्ब रुपैयाँ खर्च हुने गरेको छ भने बिमा बोर्डले कात्तिक मसान्तसम्म करिब ७ अर्ब रुपैयाँ अस्पतालहरूलाई भुक्तानी गर्न बाँकी छ।
यसअघि अर्थमन्त्री रामेश्वर खनाले पनि स्वास्थ्य बिमा भुक्तानी व्यवस्थापन जटिल अवस्थामा रहेको उल्लेख गरेका थिए।


















