Logo

९ चैत, चितवन । माडीको शान्त माटो, बाल्यकालका बालापन र बुवाआमाको पसिनाले सिञ्चित एउटा घर, जुन घर आज एउटा इँटा र माटोको संरचना मात्र रहेन, बरु “गाउँ छोडिए पनि जरा छोड्नु हुँदैन” भन्ने जीवित सन्देश बनेको छ। यो कथा हो, माडी नगरपालिका वडा नं. ७ देवेन्द्रपुरका नारायण सापकोटाको, जसले सहरको व्यस्तताका बीच पनि आफ्नो जन्मघरलाई भग्नावशेष हुनबाट जोगाएर एउटा भावनात्मक क्रान्ति सुरु गरेका छन् ।

समयको वेगसँगै सापकोटा परिवारका सदस्यहरू रोजगारी, पत्रकारिता र व्यवसायका सिलसिलामा सहर पसे । सात सन्तानको हाँसोले गुञ्जिने त्यो घर करिब १० वर्षसम्म सुनसान रह्यो । तर, नारायण सापकोटाको मन कहिल्यै त्यो आँगनबाट अलग्गिएन । उनी माडी पुग्दा हरेक पटक घर सफा गर्थे र एक्लो घरभित्र शङ्ख र घण्ट बजाएर भन्थे, “हाम्रो अस्तित्व अझै जीवितै छ।” छिमेकीहरू अचम्म मान्दै भन्थे, “घरमा कोही नभए पनि शङ्खको आवाज आउँछ।” त्यो शङ्खको ध्वनि केवल पूजा मात्र थिएन, आफ्नो थातथलोप्रतिको अटुट सम्बन्धको पुकार थियो ।

तर, समयले घरलाई जीर्ण बनाउँदै लग्यो । धमिराले खाँदै गरेको र झाडीले ढाकिँदै गएको पुर्ख्यौली घर देख्दा सापकोटाको मनमा गहिरो पीडा भयो । उनले संकल्प गरे, “यो घर जोगाउनुपर्छ, किनकि यो हाम्रो इतिहास हो।” २०८२ सालको सुरुवातसँगै उनले घरको पुनर्जीवनको अभियान थाले । भाइ रेशम सापकोटाको अनवरत खटाइ र परिवारका सबै सदस्यहरूको ऐक्यबद्धताले अन्ततः त्यो घरलाई पुनर्जीवित गरायो । आज त्यहाँ ९२ वर्षीय बुवा र ७९ वर्षीया आमाको अनुहारमा जुन खुसी देखिन्छ, त्यो नै सापकोटाको यो अभियानको सबैभन्दा ठूलो कमाइ बनेको छ।

अहिले यो घर केवल सापकोटा परिवारको मात्र रहेन, माडी पुग्ने जो कोहीका लागि “भाइरल घर” बनेको छ। मानिसहरू त्यहाँ पुग्छन्, तस्बिर खिच्छन् र आफ्नै गाउँको रित्तिँदै गरेको घर सम्झिएर भावुक हुन्छन्। “पैतृक सम्पत्ति केवल बाँडफाँड गर्ने वस्तु होइन, यो त संरक्षण गर्ने जिम्मेवारी हो” भन्ने चेतना यसले सहर सरेका धेरैलाई दिलाएको छ ।

नेपाल पत्रकार महासंघ चितवनका पूर्व सचिव र हाल माडी प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रहेका सापकोटाको जीवनदर्शन झल्किने एउटा वाक्य निकै मार्मिक छ, “बुवाआमा मसँग बस्नुहुन्छ होइन, म बुवाआमासँग बस्छु।” यो विनम्रता र संस्कारले उनको व्यक्तित्वलाई झनै उँचो बनाएको छ। उनले प्रज्ञा प्रतिष्ठानमार्फत जसरी अमूर्त संस्कृतिको संरक्षण गरिरहेका छन्, त्यसरी नै आफ्नो जन्मघर जस्तो मूर्त सम्पदालाई जोगाएर ‘कथनी र करणी’ मा एकरूपता देखाएका छन् ।

सिर्जनशील लेखक र सामाजिक व्यक्तित्वका रूपमा परिचित सापकोटाको यो कदमले एउटा गहिरो सन्देश छोडेको छ, गाउँ रित्तिँदैमा र घरहरू पुराना हुँदैमा हाम्रो सम्बन्ध सकिँदैन । यदि इच्छाशक्ति हुने हो भने ढल्न लागेको इतिहासलाई पनि पुनर्जीवित गर्न सकिन्छ । देवेन्द्रपुरको यो घरले अहिले हरेक बटुवालाई सोच्न बाध्य पार्छ, “के हामीले पनि आफ्नो जरा जोगाउने बेला भएन र ?”


सम्बन्धित समाचार