Logo

९ चैत,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिट निवेदनको सुनुवाइ अब मंगलबार हुने भएको छ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज सुसलमानको संयुक्त इजलासमा आज सुनुवाइ पूरा हुन नसकेपछि अदालतले सुनुवाइ मंगलबारका लागि तोकेको छ। अदालतका प्रवक्ता अजुनप्रसाद कोइरालाले यसबारे जानकारी दिएका छन्।

न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले यही चैत ५ गते लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको संशोधित निर्णय पेश गर्न आदेश दिएका थिए।

यसअघि सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले उक्त निवेदनलाई नियमित सुनुवाइका लागि यही चैत १ गते पेस गर्ने आदेश दिएका थिए।

महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध अघिल्लो सरकारको पालामा लगाइएका सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधका मुद्दा फिर्ता गर्ने निर्णय गरेकी थिइन्। उक्त निर्णयविरुद्ध अधिवक्ता युवराज पौडेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, र अधिवक्ता आभास रेग्मीले सर्वोच्च अदालतमा छुट्टाछुटै रिट निवेदन दायर गरेका छन्।


सम्बन्धित समाचार
भर्खरै