९ चैत,काठमाडौं । सिरहा नगरपालिका–१२ मा मोटरसाइकल मर्मतको बिल भुक्तानी विवाद पछि भएको कुटपिटमा संलग्न ६ जना विरुद्ध ज्यान मार्ने अभियोगमा मुद्दा दर्ता भएको छ।
सिरहाका प्रहरी प्रवक्ता एवं डीएसपी रमेशबहादुर पालका अनुसार, आरिफ मियाँ (२५), करिया मियाँ (५०), अरमान मियाँ (२०), हासिम मियाँ (३४), बक्कर मियाँ (३०) र नइम दफाली (२४) विरुद्ध मुद्दा दर्ता गरिएको छ। उनीहरूमध्ये आरिफ प्रहरीको नियन्त्रणमा छन् भने अन्य पाँच जना फरार रहेको र खोजीकार्य जारी रहेको छ।
घटना ६ चैतमा सिरहा नगरपालिका–१२, सारर्श्वरमा भएको थियो। स्थानीय सलमान मियाँ र हासिम दफाली पक्षबीच मोटरसाइकल मर्मतको बिल भुक्तानीको विवाद कुटपिटसम्म पुगेको थियो। यसमा सलमान पक्षका ४ जना र हासिम पक्षका २ जना घाइते भएका थिए।
घाइतेमध्ये एक जनाको उपचार जारी रहेको छ भने अन्यले प्रादेशिक अस्पताल सिरहाबाट उपचार गराएर घर फर्किसकेका छन्। प्रहरी घटनास्थलको अनुसन्धान र फरार अभियुक्तको खोजी जारी राखेको छ।
यस घटनाले स्थानीय तहमा आपसी विवादका क्रममा हिंसात्मक घटनाहरू बढ्दै गएको चिन्ता जगाएको छ।

















