Logo

१० चैत,काठमाडौं । ‘हो! हामी क्षयरोग अन्त्य गर्छौंः राष्ट्रिय अभियान, हाम्रो योगदान’ नाराका साथ आज देशभर विभिन्न कार्यक्रम आयोजना गर्दै क्षयरोग दिवस मनाइएको छ।

राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. भुवन पौडेल का अनुसार, सन् २०३५ सम्ममा क्षयरोग महामारी अन्त्य गर्ने र सन् २०५० सम्म देशलाई क्षयरोग मुक्त बनाउने लक्ष्य हासिल गर्न सबैले आ–आफ्नो क्षेत्रबाट जिम्मेवारी पूरा गर्नुपर्ने प्रतिबद्धताका साथ दिवस मनाइएको हो।

उनले मुलुकमा अझै ४२ प्रतिशत क्षयरोगी उपचार बाहिर रहेका उल्लेख गर्दै बिरामीमध्ये धेरैले रोग लुकाउने, परीक्षण नगर्ने र प्रविधिको सीमित प्रयोगका कारण परीक्षणमा समस्या भएको बताए।

आर्थिक वर्ष २०८१/८२ मा औषधि–संवेदनशील क्षयरोगका ३९,१५१ नयाँ बिरामी पहिचान भएका छन्। तीमध्ये ३९ प्रतिशत महिला, ६१ प्रतिशत पुरुष र ५.६ प्रतिशत १५ वर्षमुनिका बालबालिका रहेका जानकारी डा. पौडेलले दिए।

क्षयरोग उपचारका लागि सरकारले देशभर ६,२४१ स्वास्थ्य संस्थामा सेवा सञ्चालन गर्दै आएको छ। ७८५ संस्थामा माइक्रोस्कोपी सेवा र १४२ संस्थामा द्रुत परीक्षण सेवा निःशुल्क उपलब्ध छन्। औषधि–प्रतिरोधी क्षयरोग उपचारका लागि ३१ केन्द्र र ९८ उपकेन्द्र सञ्चालन भइरहेको छ भने १४९ स्थानीय तहमा ‘क्षयरोगमुक्त नेपाल अभियान’ विस्तार गरिएको छ। नौ वटा एआई जडित डिजिटल एक्स–रेमार्फत क्षयरोग परीक्षण भइरहेको छ।

विश्व स्वास्थ्य संगठनका तथ्यांकअनुसार विश्वमा प्रत्येक वर्ष एक करोड ७ लाख सक्रिय क्षयरोगका बिरामी छन् र १२ लाख ३० हजार मानिस क्षयरोगकै कारण मृत्यु हुने गर्छन्।


सम्बन्धित समाचार
भर्खरै