Logo

१० चैत, काठमाडौं । चलचित्र तेल भिसा का निर्माता शिवराज कार्की लाई प्रहरीले ठगी आरोपमा पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई स्वयम्भूबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार उनले वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोप लागेको छ।

कार्यालयका एसपी तथा प्रवक्ता मनोहर भट्ट का अनुसार, पासाङ नोर्बु तामाङ लगायतका पीडितले उनीविरुद्ध जाहेरी दिएका थिए। पक्राउपछि उनलाई कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहचल पठाइएको छ।

प्रहरीका अनुसार कार्कीविरुद्ध वैदेशिक ठगीसम्बन्धी ६ वटा पक्राउ पुर्जी जारी भएको छ। उनले काठमाडौंको चाबहिल क्षेत्रमा ‘पी एण्ड एम इनोभेशन सर्भिस’ नामक कन्सलटेन्सी सञ्चालन गर्दै आएका थिए।

उनीमाथि करिब २५० जनालाई ठगी गरेको आरोप छ भने १०० भन्दा बढी पीडित प्रहरी सम्पर्कमा आइसकेका छन्। यसअघि पनि उनीविरुद्ध २५ असार २०८२ मा बैंकिङ कसुरसम्बन्धी मुद्दा दर्ता भएको थियो।

पछिल्लो तीन महिनादेखि भारतको नयाँ दिल्लीस्थित पहाडगञ्जमा बस्दै आएका कार्कीबाट भारतीय आधार कार्ड र प्यान कार्ड समेत बरामद गरिएको प्रहरीले जनाएको छ। उनी त्यहाँ ‘अन्नपूर्ण फास्टफुड’ सञ्चालन गर्दै आएको पनि खुलासा भएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।


सम्बन्धित समाचार